२०७७ वैशाख ११ गते १०:१० सुजन राई
कति अर्थपूर्ण छ लाल–सलाम
लाल–सलाम लाल अभिवादन हो
परिवर्तनकारीहरूको
विभेद विरूद्ध उभिनेहरुको
क्रान्तिकारीहरूको, मजदुरहरूको ।
ओ पुँजीपतिहरु हो
ओ पश्चिमा शक्ति पुजारीहरू हो
तिमीले ह्यान्डशेक गरेर जब निर्धोको हात निचोर्यौ
गला मिलेर कमजोरको गला रेट्यौ
बोल्न सिकाएर
आवाज बन्द गर्न कन्चट्मा पेस्तोल तेर्स्रायौ
मजबुरीको फाइदा उठाएर मजदुरको पसिना लुट्यौ
नाफा सञ्चय खातिर, पृथ्वीकै आयु घटाउन तल्लिन रह्यौ
संयोग भनौं या योजना अनुरूप
घातक भनौं या कुकार्यको मानक
शाषकहरूलाई घुँडा टेकाउनकै लागी
मान्छेहरूलाई असली औकात देखाउनकै लागी
फैलिएको हो यो माहामारी
फैलिरहेछ ‘कोरोना’ ।
अब ध्वस्त हुनेछ
मानवता विहिन विश्व अर्थतन्त्र
बन्द हुनेछ विभेदको कारखाना
विलिन हुनेछन्
पैसाको आडमा बनेको उपभोक्तावादी संस्कृति
उस्तै अहङ्कार हुनेछैन मान्छेमा
सहि सावित हुनेछन् समाजशास्त्रीहरू
रहने छैन तिम्रो दादागिरी
फेरिनेछ विश्व व्यवस्था ।
लेखक
सधैं घरभित्रै थुनिएर बसिरहने छैनन्
एकदिन मान्छेहरू सडकमा उत्रनेछन्
तर गर्ने छैनन् ह्यान्डशेक
मिलाउने छैनन् गला
हात र गला मिलाए सरिहाल्नेछ कोरोना
फैलिनेछ माहामारी
बरू गर्नेछन् लाल अभिवादन
मुठ्ठी कसेर लाल सलाम
अनि खोजिनेछ मरिसकेको मानवता
हुर्काउनु पर्नेछ समानताको संस्कृति
भत्काउनु पर्नेछ शोषणको पर्खाल
सुधार्नु पर्नेछ मान्छेको बिग्रिसकेको छवि
अब
यो लडाइँमा पर्दा च्यातिनेछ कैयौं भ्रमको
र भण्डाफोर हुनेछ
फोहोरी विश्व–राजनीतिको ।
[email protected]
(लेखककाे टिप्पणीः यो कविता ‘कोरोना र यसको प्रभाव’ बारे मार्क्सवादीय–क्रान्तिकारी–समाजवादी दृष्टिकोणमा आधार बनाएर लेखिएको हो ।)
Copyright © 2022 Bikash Media Pvt. Ltd.