कर छुटको दायरा बढाइयो, मासिक ३८ हजार ४ सय ६१ रुपैयाँ तलब हुनेले कर तिर्नु नपर्ने

  २०७६ फागुन ५ गते १०:२६     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले तिर्नुपर्ने आयकरको सीमा बढाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको २ वर्ष पूरा भएको उपलक्षमा संसदमा गरेको सम्बोधनमा कोषमा आवद्ध हुनेले कर छुट पाउने सीमा ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याइएको जानकारी गराए ।

प्रधानमन्त्रीको सम्बोधनमा कर छुटको सीमा बढाइएको जानकारी प्राप्त भएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले जानकारी दिए । करको विषय भएकोले ऐनमा कुनै संशोधन जरुरी नभएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै कर छुटको सीमा वार्षिक ३ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्याइएको जानकारी दिनुभएको छ, करको विषय भएकोले मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा सुचना प्रकाशित गर्छ, अनि लागू हुन्छ,’ उपकार्यकारी निर्देशक पन्थीले विकासन्युजसँग भने ।

सरकारले वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुने र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले आयकर तिर्नु नपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि मासिक ३८ हजार ४ सय ६१ रुपैयाँसम्म तलब हुने कर्मचारीले आयकर तिर्नु पर्दैन । किनभने सरकारले आयकर गणना प्रयोजनको लागि एक वर्षलाई १३ महिना मान्छ ।

यसअघि वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुनेले कर छुट पाउने व्यवस्था गरिएको थियो । यो भनेको मासिक २३ हजार ७६ रुपैयाँसम्मको तलब भत्ता पाउनेले कर छुट पाउने अवस्था थियो ।

आयकरको सीमा थोरै राखिएको र खान लाउनै नपुग्ने आम्दानीमा पनि सरकारले कर लिएको भन्दै कोषमा आवद्ध हुनेको संख्या निकै कम थियो । कोषमा आवद्ध हुनेको कर छुटको सीमा बढाइएकोले आवद्ध हुनेको संख्या बढ्ने कोषको विश्वास छ ।

सम्बन्धित समाचार

राष्ट्र बैंकको निर्देशनः अब ८० हजारभन्दा कम तलब खानेले गाडी किन्न नसक्ने

५० हजार तलब खानेले बढीमा २० लाख ऋण पाउने, तलबी कर्मचारीले कसरी लिने कर चुक्ता प्रमाण ?

One comment on "कर छुटको दायरा बढाइयो, मासिक ३८ हजार ४ सय ६१ रुपैयाँ तलब हुनेले कर तिर्नु नपर्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.