पूर्वाधार विकास कम्पनी कोमामा, प्रदेश सरकारसँग लफडा, पीडितको पैसा फिर्ता दिएको दाबी

  २०७६ माघ २७ गते १०:२९     राजाराम न्यौपाने

काठमाडौं । ३५ अर्ब रुपैयाँभन्दा बढीको सडक पूर्वाधान हेटौंडा– काठमाडौं सुरुङमार्ग बनाउने लक्ष्यसहित स्थापना कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी खारेजीको संघारमा पुगेको छ ।

कम्पनीले समयमै उचित ढंगले काम गर्न नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सो आयोजना प्रदेश सरकारले बनाउन लागेको बताए । प्रदेशको मात्रै नभएर देशकै महत्वपूर्ण विकास आयोजना भएको र सो आयोजना ओघटेको कम्पनीले बनाउन नसक्ने अवस्था देखिएपछि प्रदेश सरकार अग्रसर भएको उनको भनाइ छ ।

यता कम्पनी भने प्रदेश सरकारले आफूहरुलाई कामै गर्न नदिएको आरोप लगाउन थालेको छ । संघीय सरकारले दिएको आयोजना प्रदेश सरकारले बनाउन नदिएर त्यसै थन्किएको भन्दै प्रदेश सरकार विरुद्ध कानुनी उपचारमा जाने संकेत कम्पनीले गरेको छ ।

तर, कम्पनीले ९ वर्ष अगाडी हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने भनेर सर्वसाधारणसगँ उठाएको पैंसा फिर्ता गर्न थालेको छ ।

हेटौंडा –काठमाडौं सुरुङमार्गका परियोजना निर्देशक नुगल आनन्द वैद्य मानवीय संकटमा परेका सर्वसाधारणको रकम कम्पीले फिर्ता दिन लागेको बताउँछन् । केही लगानीकर्तालाई कम्पनीले रकम फिर्ता गरिसकेको उनको भनाइ छ ।

‘जथाभावी सेयर रकम उठाउने नीति हाम्रो कम्पनीको थिएन, केही व्यक्तिहरुले सुरुमा नै मनलाग्दी रकम उठाए, त्यसले पनि समस्या भइरहेको छ, पैसा फिर्ता चाहियो भनेर माग गर्ने र अति आवश्यकता परेको देखिएका केहीको रकम फिर्ता गरिसकेका छौं,’निर्देशक बैद्यले भने ।

बैंकमा पैसा राखेर व्याज खादै

कम्पनीले सर्वसाधारणसँग उठाएको केही रकम कम्पनीले बैंकको मुद्दति निक्षेपमा राखेर व्याज खादै कम्पनी चलाएको छ । यस्तो व्याजबाट आर्जित रकमबाटै कम्पनीले संचालन खर्च चुटाएको छ ।

‘कम्पनीले सर्वसाधारण लगानीकर्ताको सेयर सुरक्षित गराउन निक्षेप बढाउदै जान्छ, मुद्दती निक्षेपबाट आएको व्याजलाई पनि फेरि मुदतीमा जम्मा गरेर लगानी सुरक्षित गर्दै जाने योजना बनाएका छौं,’ निर्देशक बैद्यले भने ।

लगानी गर्न अझै सर्वसाधारण आउँदै

पैसा उठाएको ९ वर्षसम्म केही नगरी बसेको कम्पनीले सुरुङमार्ग बनाउला भन्ने आश सर्वसाधारणमा अझै मरेको छैन । त्यसैकारण केही सर्वसाधारण लगानी गर्न अझै कम्पनीमा आउने गरेका छन्, जुन कम्पनी आफै करिब मृत अवस्थामा पुगेको छ ।

कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी २०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन ।

कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । काम सुरु भएकै छैन ।

पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपति र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यसअनुसार कम्पनीले सर्वसाधारणबाट ३१ करोड ७६ लाख रुपैयाँ रकम उठाइसकेको थियो ।

कम्पनीको अध्यक्ष ४ पटक फेरिए । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् ।

कम्पनीमा सर्वसाधारण सेयर लगानी छ । आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाडौं–हेटौंडा सुरुङमार्गको सेयरमा लगानी गरेका सर्वसाधारणको लगानी के हुन्छ भन्ने प्रश्न गम्भीर बनेको छ ।

सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका छन् । कुलेखानीका करिब १ सय १ जना र भेमफेदीका करिब ९७ जना सामान्य कृषकसमेतले कम्पनीमा लगानी गरेका छन् ।

सम्बन्धित सामग्री

सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ

निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.