सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ

  २०७६ माघ २१ गते १९:०९     राजाराम न्याैपाने

काठमाडौं । काठमाडौं– हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि अधिकांश नेपाली खुसी भए । आफ्नो गाउँठाउँमै नेपालकै पहिलो सुरुङमार्ग बन्ने भएपछि मकवानपुरवासी खुसी नहुने कुरै भएन ।

काठमाडौं–हेटौंडा सुरुङमार्गमा सर्वसाधारणको पनि सहभागित हुने भनियो । सडक निर्माण हुने मकवानपुरका स्थानीयले पनि बाट बनाउने कम्पनीमा लगानी गरेर सहभागी हुन पाउने गरी कम्पनी खडा गरिएपछि सर्वसाधारणको आशा अझै बढ्यो । सर्वसाधारण खुसी भए ।

यसरी खुसी हुनेमध्येका एक थिए– मकवानपुरको फाखेलका धिरज लामाले । उनी लामो समय जापान बसेर फर्केका थिए । जापानका चिल्ला सडक, रहरलाग्दो विकास र सहज जीवनशैलीले धिरज पनि प्रभावित थिए ।

नेपालमा पनि सुरुङमार्ग बन्दैछ भन्ने सुने । उनका लागि थप खुसीको कुरा के थियो भने उनी आफै सेयर लगानी गर्न पनि पाउँथे र त्यो लगानीले बन्ने सुरुङमार्ग पनि आफ्नै गाउँठाउँमै थियो ।

आफ्नै जिल्लामा सुरुङगमार्ग बन्ने भएपछि लामा धेरै खुसी थिए । नेपाल पुर्वाधार विकास कम्पनीले पनि फाखेलको पैसा उठाउने जिम्मा धिरजलाई नै दियो । धिरजले गाउँभरीका मान्छेलाई लगानी गर्दा केके फाइदा हुन्छ भनेर बुझाए । फाखेल कुलेखानीका गरी करिब १ सय १ जनाले लामाको कुरा पत्याए । अनि १५ लाख ९० हजार रुपैयाँको सेयर किने ।

‘विदेशमा ४/५ तल्लाको सुुरुङमार्ग बनेको देखिन्छ, नेपालमा पनि सुरुङमार्ग बन्ने सुनेपछि धेरै खुसी भएको थिएँ, गाउलेलाई पनि लगानी गर्नुपर्छ भनेर कन्भिन्स गरेँ, तर ९ वर्ष भयो केही काम भएको छैन, हाम्रो पैसा के भयो भनेर गाउँलेले सोधिरहेका छन्,’ धिरजले भने ।

धिरले पनि लगानी गरेका थिए । उनी आफैले १० हजार रुपैयाँको सेयर किनिसकेका थिए ।

फाखेलमा संयोजक समेत रहेका धिरजको घर फाखेल बजारमा नै छ । सेयर किन्ने मान्छेहरु उनको घर भएको बाटो नै भएर हिड्ने गरेका छन् । बोटो हिड्दा समेत उनलाई हाम्रो पैंसा के हुदै छ भनेर प्रश्न गर्ने गरेका उनले सुनाए ।

देश विकास हुन्छ भन्ने भएपछि हामीले पनि केही सहयोग गर्नुपर्छ भनेर सहयोग गरिएको उनको भनाइ छ । तर, नेपाल कम्पनीले न काम गर्यो, न आफूहरुको पैसा नै बाँकी रह्यो भन्ने गुनासो उनको छ ।

भीमफेदीका बद्री थापाले मकवानपुर जिल्लाको नै मुहार फेरिने सपना देखे । उनलाई लाग्यो, सुरुङमार्ग बनेपछि दुई–चार हजार रुपैयाँ कमाउन गाउँ छाडेर हिंड्नु पर्ने छैन । सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्वार भीमफेदीमै पर्नेवाला थियो । सुरुङमार्ग निर्माता कम्पनीले गरेको सर्वपक्षीय भेलामा सहभागी भएपछि उनको आशा विश्वासमा बदलिएको थियो । भेलामा सुरुङ र बाहिरको फराकिलो सडक कम्प्युटरमा देखेपछि बद्रीले विश्वास गरेका थिए ।


भेलामा लगानी जुटाउने तरिका र नाफा–नोक्सानको हिसाब समेत देखाइयो । भेलामा मजाले बुझेपछि थापाले पनि आफूले सकेजति लगानी निर्णय गरे । उनले ५० हजारको सेयर किने ।

‘ठूलो आश लागेको थियो, के के न होला भन्ने भएको थियो, पैसा लगानी गरियो, काम केही भएको छैन, आजकल त सुरुङको कुरा गर्दा पनि रिस उठ्ने गरेको छ,’ बद्रीले भने ।

हेटौंडाका अनिल अग्रवालले पनि सुरुङ बन्ने सुनेपछि लगानी गर्ने निर्णय गरे । उनी त्यो बेला हेटौंडा उद्योग बाणिज्य सघंका सदस्य पनि थिए । उनले सुरुङगमार्ग निमार्णका लागि १ लाखको सेयर खरिद गरे ।

सेयर किन्दा उनलाई देश विकास हुने परियोजनामा लगानी गर्न पाउदा खुसी लागेको थियो । तर विस्तारै सुरुङ मार्गको काम नहुने हो कि भनेर उनलाई शंका लागेको थियो । उनले साथीभाइहरुसगँ कुरा गर्दा कतै लगानी बलुवामा पानी त हुने हैन भनेर सोध्ने गरेका थिए । तर उनलाई साथीभाइहरुले गाली गर्ने गरेका थिए ।

अग्रवाललाई अब आफ्नो १ लाख रुपौंया खेर नै गएको भान भैइरहेको छ ।

‘अब न काम भयो, न कम्पनीसगँ पैंसा छ । हाम्रो लगानी खेर गयो,’ अग्रवालले भने ।

स्थापनाकालदेखि नै कम्पनीमा काम गर्दै आएका शिव पौडेलले गाउँका ६० जनालाई सेयर किन्न लगाए । आफूले पनि किने । सुरुदेखि नै सोही कम्पनीमा काम गरेकोले उनको आश अझै मरेको छैन ।

‘म गाउँ जादा गाउँका साथीहरुले ख्याउख्याउ गरेर हैरान पार्ने गरेका छन्,’ शिवले भने ।

सम्बन्धित सामग्री

निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.