काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले उन्मुक्ति पाएका छन् । पौडेलका छोरा नविनको नाममा दर्ता भएको सो जग्गा सरकारलाई फिर्ता गर्ने प्रतिबद्धता नविनले गरेका छन् ।
पौडेलका छोरा नविन पौडेलको नाममा रहेको ललिता निवासको ३०९ र ३१५ कित्ता नम्बरको जग्गा फिर्ता गर्ने बयान दिएकोले जफत गर्ने प्रक्रियामा नगइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाइ छ ।
यस्तै, कुमार रेग्मीको नाममा पनि ललिता निवासको जग्गा छ । उनले पनि सरकारलाई जग्गा फिर्ता दिने प्रतिबद्धता जनाएका अख्तियारले जानकारी दिएको छ । अख्तियारले आज (२२ माघमा) ललिता निवास जग्गा प्रकरणमा संलग्न १७५ जना विरुद्ध मुद्दा दर्ता गरेपनि पौडेल र रेग्मी विरुद्ध मुद्दा परेको छैन ।

‘ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीहरु मध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकोले जग्गा जफतको मागदावी लिनको लागि प्रतिवादी बनाउन आवश्यक नदेखिदा हाल निज कुमार रेग्मी र नवीन पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने,’ अख्तियारले मुद्दा दायर गरेपछि सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अख्तियारले रेग्मी र पौडेलका नाममा दर्ता भएको जग्गा नेपाल सरकारको नाममा कामय गर्न गराउनका लागि यथाशीघ्र आवश्यक कारबाही गर्न र सोको जानकारी आयोगलाई गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सुझाव लेखी पठाउने भएको छ ।