नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-१ः तीन वर्षअघि ४ लाख पर्ने जग्गाको मूल्य अहिले २२ लाख

  २०७६ माघ ३ गते १३:१९     सुनिता पुडासैनी, डोमी शेर्पा

काठमाडौं । सीता ढकालले ३ वर्ष अगाडी चन्द्रागिरी नगरपालिका वडा नं १ मा प्रतिआना ४ लाखमा जग्गा किनेकी थिईन् । अहिले त्यही जग्गाको भाउ बढेर प्रतिआना २२ लाख रुपैयाँ पुगेको छ ।

आफूले किनेको जग्गाको भाउ यति छोटो समयमा नै धेरै बढेकोमा ढकाल दंग छिन् । नेपाल प्रहरीमा जागिर खाने छोराहरुले जसोतसो गरेर कमाएको पैसाले किनेको जग्गाको मूल्य यति छोटो समयमा नै यति धेरै बढ्दा उनलाई खुसी नलाग्ने कुरा पनि भएन ।

काभ्रेकी ढकाल विगत १ वर्षदेखि चन्द्रागिरीको टोटीपाखामा नै बस्दै आएकी छन् । पछिल्ला केही वर्षयता सो स्थानमा जग्गाको मात्रै होइन, सटर र कोठाभाडा पनि बढेको सीताको अनुभव छ ।

यसरी मूल्य बढ्नुको कारण सरकारी परियोजना हो । सरकारले काठमाडौंको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग बनाउन लागेको छ । यो सुरुङमार्गको जग्गा अधिग्रहणमा सरकारले नै उच्च मूल्य तिरेपछि जग्गाको भाउ आकाशिएको हो ।

आयोजनाका नापी अधिकृत अन्जनी कुमार जोशीले दिएको जानकारी अनुसार सरकारले सो सुरुङ मार्गमा पर्ने काठमाडौंतिरको जग्गाको मूल्य प्रतिआना न्यूनतम ९ लाख रुपैयाँ र अधिकतम ४२ लाख रुपैयाँसम्म तोकिएको छ । चलनचल्तीको मूल्यभन्दा सरकारले नै निकै बढी मूल्यमा मुआब्जा दिएको कारण जग्गाको मूल्य बढेको स्थानीय बताउँछन् ।

गत कात्तिकमा प्रधानमन्त्री केपी ओलीले सो सुरुङ मार्गको शिल्यान्यास गरेका थिए । २.६८ किलोमिटर लामो सुरुङ मार्ग काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १ मा पर्ने टोटीपाखाबाट सुरु भएर धादिङ्गको धुनिबेशी गाँउपालिकाको सिस्नेखोलामा गएर टुंगिन्छ ।

तीन वर्ष अगाडी सडकसँग जोडिएको जग्गाको भाउ प्रतिआना ३ देखि ४ लाख रुपैयाँ रहेको चन्द्रागिरी नगरपालिका वडा नं. २ बसन्तटोलका स्थानीय राम थापा बताउँछन् ।

‘सुरुङमार्ग बन्ने भनेपछि यहाँ जग्गाको भाउ आकाशिएको छ, मूल्य अझै बढ्ने आशामा कसैले पनि जग्गा बेचेका छैनन्, त्यसैले मूल्य बढेपनि कारोबार भने कम छ,’ थापाले भने ।

सरकारले सुरुङ निर्माणमा पर्ने जग्गाधनीलाई मुआब्जाको रुपमा पक्की सडकसँग जोडिएको जग्गालाई प्रतिआना २२ लाख, कच्ची सडकलाई छोएको जग्गालाई प्रतिआना १८ लाख, गोरेटोले छोएको जग्गालाई प्रतिआना १२ लाख र सडकले नछोएको जग्गालाई प्रतिआना ९ लाख रुपैयाँका दरले मुआब्जा वितरण गरेको थियो ।

राजमार्गसँग जोडिएको जग्गा हुनेले भने अझै धरै रकम पाएका छन् । आयोजनाका नापी अधिकृत जोशीका अनुसार राजमार्गसँग जोडिएको जग्गालाई प्रतिआना ४२ लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो । प्रतिआना ४२ लाख रुपैयाँका दरले सरकारले ३ कित्ता जग्गा अधिग्रहण गरेको छ ।

अहिले सुरुङमार्ग निर्माण आसपासको क्षेत्रमा बाटो नाप्ने काम हुँदै गरेको देखिन्थ्यो भने कतै सडक छेउमा धमाधम टहरा निर्माण भइरहेको थियो । यस्तै, भिरालो जमिनमा पनि जग्गाको प्लटिङ भइरहेको देखिन्थ्यो ।

बसन्तटोलमा होटल संचालन गर्दै आएका दार्चुलाका दल्पति धामीलाई सटर भाडा बढेको चिन्ता छ ।

‘सुरुङमार्ग बन्ने भएपछि घरभाँडा धेरै बढेको छ, पहिला ४ हजार रुपैयाँ पर्ने सटरको भाँडा अहिले बढेर ८ हजार रुपैयाँ भएको छ,’ धामीले भने ।

सुरुङमार्ग बनाउन सुरु भएपछि सो क्षेत्रमा चहलपहल बढेको स्थानीय बताउँछन् ।

‘सुरुङमार्ग निर्माण हुने भनेदेखि नै यहाँ बस्तीहरु बढ्न थाले, चहलपहल बढेको छ, भिरालो जमिनमा पनि जग्गा प्लटिङ गरेर घडेरी विक्री गर्न थालिएको छ,’ स्थानीय राधिका केसीले भनिन् ।

सो सुरुङमार्ग निर्माण हुने जग्गा चन्द्रागिरी नगरपालिकाको वडा नं. १, ३, ५ र १२ भित्र परेको छ । स्थानीय बुद्ध महर्जनले १४ आना जग्गाको गत जेठमा नै १ करोड रुपैयाँ मुआब्जा लिएको बताए ।

सुरुङमार्ग बनाउनको लागि सरकारले काठमाडौं जिल्लामा करिब २ सय ५० रोपनी जग्गा अधिग्रहण गर्नेछ । सो जग्गा करिब २ सय ५५ जनाको नाममा रहेको आयोजनाले जानकारी दियो ।

काठमाडौं जिल्लाका अधिकांश जग्गाधनीले जग्गा पाइसकेका छन् । अहिलेसम्म करिब ९५ प्रतिशत जग्गाधनीले मुआब्जा लिइसकेको आयोजनाका प्राेजेक्ट म्यानेजर श्यामप्रसाद खरेलले जानकारी दिए । सरकारले जग्गाधनीलाई ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।

यस्तै, धादिङतर्फको करिब ६० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । अहिलेसम्म करिब ७ रोपनी जग्गा अधिग्रहणको काम सकिएको छ भने बाँकी जग्गाको मुआब्जा दिने कार्य सुरु भएको छ ।

मुआब्जा वितरण र ओयोजना विकासको गतिमा स्थानीयको गुनासो नरहेको चन्द्रागिरी नगरपालिका वडा नं. १ का अध्यक्ष राजेन्द्र केसीले बताए ।

उक्त सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ०.०१ प्रतिशत व्याज दरमा ४० वर्षका लागि १६ अर्व ६ करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ । आयोजना निर्माणको लागि नेपाल सरकारले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.