काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक २९ गते बोलाएको विशेष साधारणसभा अनिश्चित बनेको छ । विधान संशोधन र प्रक्रियाको विषयमा केन्द्रीय नेतृत्वमा नै विवाद भएपछि विशेष साधारणसभा स्थगन गर्ने तर्फ छलफलहरु केन्द्रित भएको महासंघको एक पदाधिकारीले बताए ।
‘विधान संशोधनको विषयहरुमा केन्द्रीय पदाधिकारीमा पनि मत बाझिएको छ । कार्यसमितिको बैठकमा पनि नोट अफ डिसेन्ट लेखिएका छन् । र, विधान संशोधन प्रक्रिया मिलेन भन्ने विषयमा पनि विवाद भयो’ महासंघका एक जना पदाधिकारीले भने–‘विवाद कै बीचमा विधान संशोधन हुँदा संस्था झन् कमजोर हुन्छ । अहिले विशेष साधारणसभा नगरौँ । चैतमा हुने नियमित साधारणसभामा विशेष प्रस्तावको रुपमा विधान संशोधन प्रस्ताव लैजाऊ भन्ने लाइनमा छलफल चलेको छ ।’
यसै साता बस्ने स्थायी समितिको बैठकले विशेष साधारणसभा स्थगित गर्ने सम्बन्धमा निर्णय लिन सक्ने र त्यसलाई कार्यसमितिको बैठकले अनुमोदन गर्न सक्ने उनले बताए ।
विधान संशोधन समितिसँग स्पष्टीकरण माग
विधान संशोधन विधिसम्मत नभएको भन्दै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले लिखित पत्र नेतृत्वलाई दिएपछि पदाधिकारीको बैठकले समितिसँग स्पष्टीकरण लिने निर्णय गरेको छ । शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकले विशेष साधारणसभाको कानूनी विषयमा विधान संसोधन समितिसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा बसेको पदाधिकारी बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एशोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उपस्थित थिए ।
उक्त बैठकमा विशिष्ट सदस्य तथा विधान संसोधन समितिका संयोजक चण्डी ढकाल तथा उपाध्यक्ष उमेश श्रेष्ठ र कोषाध्यक्ष निरक केसी भने उपस्थित थिएनन् । पधाधिकारीको बैठकले विधान संशोधन समितिसँग प्रष्टीकरण सोध्नु हास्यास्पद विषय भएको कोषाध्यक्ष केसीले बताए । ‘म बैठकमा उपस्थिति थिइन । विधान संशोधन प्रक्रिया मिलेको छ कि छैन कार्यसमितिले व्याख्या गर्ने हो । विधान संशोधन समितिले होइन’ केसीले भने ।
महासंघको विधान संसोधन गरेर यो पटकदेखि नै बरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने प्रस्ताव हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ । तर, यसरी विधान संशोधन गर्नु गलत हुने आवाज पनि महासंघमा उठिरहेको छ ।
महासंघका उपाध्यक्ष किशोर प्रधानका अनुसार विधान संशोधनका लागि करिब ३५ बुँदे प्रस्ताव विशेष साधारणसभामा पेस गरिदैछ । त्यसमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्था खारेज गरेर अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष मतदानबाट गर्ने प्रस्तावमा ठूलो विवाद छ ।
प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने गरी विधान संशोधन हुँदा यसअघि प्रत्यक्ष मतदानबाट बरिष्ठ उपाध्यक्ष भएका शेखर गोल्छा फेरी चुनाव लड्नु पर्छ वा अध्यक्ष बन्ने प्रक्रियाबाट बाहिरिनु पर्छ । यस्तो अवस्थामा गोल्छा निर्वाचनमा भाग नलिने र माडवरी समूदायका सदस्यहरुले महासंघ परित्याग गर्ने बताइएको छ ।
महासंघमा हुने सम्भावित दुर्घटना रोक्न अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन गर्ने, तर यसअघि भावी अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष बनेका गोल्छालाई अध्यक्ष बन्न रोक्न नहुने प्रस्ताव आफूले गरेको अध्यक्ष राणाले बताइन् । ‘संस्थालाई कमजोर बनाउने गरी विधान संशोधन गर्ने पक्षमा हामी छैनौं । सहमतिको लागि मैले मध्यमार्गी प्रस्ताव गरेको छु’ राणाले भनिन् ।