
काठमाडौँ । यो साता नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । गत आईतबारदेखि बिहीबारसम्म नेपाल बैंकको ८ करोड ५९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ । सेयर संख्याको आधारमा पनि नेपाल बैंकनै अग्रस्थानमा छ ।
नेपाल बैंकको २ लाख ४२ हजार कित्ता शेयर खरिद बिक्री भएको थियो । गत साता पनि नेपाल बैंकको सेयर बढी कारोबार भएको थियो । पछिल्लो समयमा नेपाल बैंकको सेयर बढी किनबेच भएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा राम्रो नाफा गरेपछि बढी लाभांश पाउने आशामा लगानीकर्ताले नेपाल बैंकको सेयर किनेका हुन् । ९ महिनामा बैंकले २ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै पुँजीगत आधार मजवुत हुनुका साथै राम्रो नाफा आर्जन गरेको र सेयर मूल्य सस्तो भएपछि नेपाल बैंकको बढी सेयर कारोबार भएको हो ।
यो साता कुल १ अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा ६६.६३ प्रतिशत कम हो ।
गत साता १८२ कम्पनीका ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर अन्तिम दिन १ हजार ३६६ अंकमा पुगेको छ ।