काठमाडौं । थप निष्कासन (एफपीओ) ल्याउने भएपछि लगानीकर्ता नेपाल बैंकमा झुम्मिएका छन् । बुधबार बैंकले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मार्फत सूचना जारी गर्दै पौने २ अर्ब रुपैयाँको एफपीओ निष्कासन गर्ने घोषणा गरेपछि लगानीकर्ता बैंकमा आकर्षित भएका हुन् ।
दोहोरो अंकले घटेको बुधबारको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । बुधबार बैंकको प्रतिकित्ता ३४६ रुपैयाँमा ५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर किनबेचका आधारमा पनि यस बैंकको अग्रस्थानमा छ । बैंकको एकैदिन १ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । बैंकले एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।
बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जानकारी दिएको छ । पुँजी बढाउन बैंकले एफपीओ निष्कासन गर्न लागेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुदनाफा घटेर १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो ।
समग्रमा बुधबारको नेप्से परिसूचक १२।०१ अंकले ओरालो लागेर १३८२।०२ अंकमा झरेको छ । बुधबारको सेयर बजार शुरु भएदेखि अन्त्यसम्म निरन्तर ओरालो लागेको छ । निरन्तर ओरालो लागेको बजारमा कुल २६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ८३ अंकले ओरालो लागेको छ । फाइनान्स र ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले उकालो लागेपनि अन्य बाँकी समूहको सूचक भने राताम्मे भएका छन् ।