काठमाडौं । आउदो फागुन ११ गतेदेखि दुई जलविद्युत कम्पनीले २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् ।


दुबै कम्पनीले आउदो आइतबार आईपीको निष्कासनका लागि आब्हनपत्र सार्वजनिक गर्ने भएका छन् । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई गरी २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् ।
फागुन ११ देखि ३० गतेसम्म कर्मचारी संचय कोषका संचयकर्ता, चैत ५ देखि १३ गतेसम्म नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्ने रसुवा हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए ।
धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ ।
माघको पहिलो साता आईपीओ निष्कासन गर्ने तयारी भएपछि कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले फागुनको ११ गते पुगेको हो ।