काठमाडौं । अब सरकारले एक सय मेगावाटभन्दा माथिका आयोजनाका लागि विदेशी मुद्रा (अमेरिकी डलर) मा विद्युत् खरिद सम्झौता गर्ने भएको छ । विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धि कार्यविधिले एक सय मेगावाटभन्दा ठूला आयोजनाको पीपीए डलरमा हुने भएपछि वैदेशिक ऋण लगानी गर्नका लागि ढोका खुलेको छ ।
सरकारले डलरमा पीपीए गर्दा हुने जोखिम व्यवस्थापन गर्न हेजिङ फन्ड स्थापनाको प्रक्रिया सुरु गरेको छ । उक्त फन्डमा कति रहनेभन्दा पनि पीपीए गरिएका आयोजनामा आर्थिक नोक्सानी व्यहोर्नु पर्दा उक्त रकम सरकारले उपलब्ध गराउने छ । हेसिङ फन्टका लागि ऊर्जा मन्त्रालयले सरकारलाई अनुरोध गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सो कार्यविधि आएपछि करिब आधा दर्शन विद्युत् आयोजनाले डलरमा पीपीए गर्न प्रक्रिया अघि बढाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार २ सय ८९ मेगावाटको माथिल्लो तमोर, २ सय ८२ मेगावाटको मनाङ मस्र्याङ्दी, २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान, १ सय २० मेगावाटको रसुवा–भोटेकोसी र सय मेगावाटको सुपर त्रिशूलीले डलरमा पीपीए गर्ने प्रक्रिया अघि बढाएका हुन् । माथिल्लो त्रिशूली र रसुवा–भोटेकोसीलगायतका विद्युत् आयोजनाले मात्र डलर पीपीए गर्ने प्रस्ताव अघि बढाएका छन् ।
उक्त आयोजनामध्ये माथिल्लो त्रिशूलीको पीपीए सम्झौता अन्तिम चरणमा छ । सुपर त्रिशूली, कालीगण्डकी कोबान र रसुवा–भोटेकोसीको पिपिए प्रस्तावको प्राविधिक मूल्यांकन भइरहेको छ ।
प्राधिकरणको विद्युत मागबारे ‘भेरिफिकेसन’ गर्न बनेको समितिले तीन चरणमा छलफल गरेपछि मात्र डलर वा नेपाली रुपैयाँमध्ये कुनमा पीपीए गर्ने भन्ने टुङ्गो लाग्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताए ।
कुनै पनि आयोजना पीपीए गर्ने अवस्थामा पुग्नुभन्दा पहिला निश्चित शर्त तथा आधारहरू तोकिएको हुन्छ । आयोजनासँग विद्युत् उत्पादन क्षमता र वार्षिक विद्युत् उत्पादनलाई पीपीएको मुख्य आधार मानिन्छ । प्राविधिक मूल्यांकन र प्रसारण लाइन सम्झौता गरिसकेपछिमात्रै पीपीए प्रक्रिया अघि बढ्ने अधिकारीले बताए ।
विदेशी मुद्रामा पीपीए गर्दा अर्धजलाशयको छुट्टाछुट्टै दरभाउ तोकेको छ । सरकारले तोकेको दरमै गरिने प्रवक्ता अधिकारीले बताए । अर्धजलाशय (पिकिङ) आयोजनाको बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँदेखि १०.५५ रुपैयाँ निर्धारण गरिएको छ । हिउँदमा पिकिङ नगर्नेलाई प्रतियुनिट ८.४० रुपैयाँ र पिकिङ गर्ने आयोजनाको हकमा सोहीअनुसार पीपीए दर निर्धारण गरेको छ ।
यसैरीनै प्राधिकरणले जलाशय आयोजनाको बर्खामा प्रतियुनिट ६.०३५ रुपैयाँदेखि ७.१० रुपैयाँ र हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ पीपीए दर निर्धारण गरेको छ ।