टाटाको गाडी किन्न मुक्तिनाथको कर्जा, ईभीमा ६० र आईसीईमा ७० प्रतिशत

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ ।

समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखाबाट सहुलियत ब्याजदरमा कर्जा सुविधा पाउनेछन् ।

बैंकले विद्युतीय सवारी साधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म र आन्तरिक दहन इन्जिनयुक्त (आईसीई) सवारी साधनका लागि अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।

यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच सहज हुने अपेक्षा गरिएको छ । 

साथै यसले साना व्यवसाय तथा उद्यमको विस्तारमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।

यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो कर्जा, कृषि कर्जा तथा लघु, साना तथा मझौला उद्यम (एसएमई) कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना पनि ल्याएको जनाएको छ ।

Share News