नबिल बैंकको डीसीईओ बने गणेश अवस्थी

काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश प्रसाद अवस्थी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

अवस्थी हाल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत छन् । बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव सँगालेका अवस्थीले सहायक महाप्रबन्धक (एजीएम) पदबाट नबिल बैंकमा प्रवेश गरेका हुन् ।

क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल राख्ने अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका थिए भने सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय काम गरेपछि उनी नबिल बैंकमा आबद्ध भएका हुन् ।

विभिन्न बैंकिङ फोरममा सहभागी हुँदै आएका अवस्थी क्रेडिट व्यवस्थापन, व्यावसायिक क्षमता अभिवृद्धि तथा ग्राहक सेवामा केन्द्रित छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै, हार्वर्ड बिजनेस स्कुलबाट ‘डिस्रप्टिभ स्ट्राटेजी’ विषयसमेत अध्ययन गरेका छन् ।

Share News