काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन लागेका छन् । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ ८ गते सोमबार विश्वासको मत लिन लागेका हुन् ।
त्यसअघि भदौ ७ गतेका लागि विश्वासको मत लिने तयारीअनुसार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको मुख्यमन्त्री थापाले विश्वासको मतका लागि भदौ ८ गतेका लागि तोकेका हुन् ।
मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
मुख्यमन्त्री थापाकाअनुसार गृह जिल्ला जाने कार्यक्रम तय भएको र अन्य दलहरूको सुझावअनुसार मिति सारिएको हो । आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मत सम्बन्धी प्रक्रिया टुंग्याउने र सोमबार मत विभाजनसहितको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको लागि भदौ ३ गते दाबी पेश गरेको थापा भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार सञ्चालन तथा बहुमत सिद्ध गर्न ५३ जना सांसदको समर्थन आवश्यकता पर्दछ । बिहिबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थापाले ६ जना मन्त्री नियुक्त गरेका थिए । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्लाई पूर्णता लिने उनको तयारी छ ।