काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी भएको बताउँदै गृहमन्त्री गुरुङले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत एउटा घटनामा दोषीलाई सजाय दिलाउनु मात्रै सरकारको लक्ष्य नभएको बताएका छन् ।
'हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन । हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो,' उनले भनेका छन् ।
गृहमन्त्री गुरुङले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै घटनाको अनुसन्धान अघि बढाइसकेको जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई तत्काल पक्राउ गरिएको छ भने अनुसन्धान जारी छ ।
घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारेका छन् ।
गृहमन्त्री गुरुङले जघन्य अपराध नियन्त्रणका लागि कानुनी तथा संस्थागत व्यवस्था थप बलियो बनाउँदै नागरिक, विशेषगरी बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।