प्रधानमन्त्री शाहको भ्रमण टोलीका बारेमा प्रशासनलाई छैन जानकारी

जोमसोममा सुरक्षा व्यवस्था कडा

फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका लागि मुस्ताङ जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । 
शुक्रबार काठमाडौंबाट मुस्ताङतर्फ गएका प्रधानमन्त्री शाह पोखरामा एक रात बसेर मुस्ताङ यात्रामा निस्केका हुन् ।

पोखराको अन्नपूर्ण रिसोर्टमा बसेर उनी मुस्ताङतर्फ निस्केका छन् । प्रधानमन्त्री शाह मुस्ताङ आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले बताए । 

'प्रधानमन्त्री निजी भ्रमणका लागि मुस्ताङसम्म आउने खबर जानकारीमा आएको छ,' उनले भने,'चुस्त, दुरुस्त र जिल्लाबाट हुने पर्याप्त सुरक्षाको व्यवस्था गरिएको छ ।'

प्रधानमन्त्री शाह कार्यक्रमको लागि नभइ निजी भ्रमणका लागि आएको भण्डारीले उल्लेख गरे । 'हामीलाई कहाँ बस्ने र के गर्ने भन्ने कुरा केही जानकारी आएको छैन,’ उनले अगाडि थपे,’ हामीलाई प्रारम्भिक जानकारीमा जोमसोमसम्म मात्र भन्ने छ ।'

पारिवारिक र व्यक्तिगत भ्रमण भएकाले हामीलाई सबै जानकारी नआएको उनको भनाइ छ । 'जोमसोमसम्म आइसकेपछि मुक्तिनाथसम्म जानुहोला हाम्रो अनुमान छ,’ उनले भने,' कहाँ-कहाँ जाने भनेर औपचारिक रुपमा जानकारी आएको छैन ।'

प्रधानमन्त्री शाहको निजी भ्रमणमा कति जनाको टिम रहेको त्यसको बारेमा जिल्ला प्रशासनमा केही खबर नगरिएको भण्डारीले विकासन्युजलाई प्रस्ट पारे । 'को-को छन र कति संख्यामा भ्रमण टोलीमा छन् त्यस बारेमा हामीलाई केही थाहा छैन,’ उनले अगाडि भने ।

प्रहरीको उच्च स्रोतका अनुसार जोमसोम र आसपासका सुरक्षा व्यवस्था कडा पारिएको छ। सबै सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीका एक उच्च अधिकारीले बताए ।

Share News