काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर दलको विवाद समाधान गर्नुपर्ने बताएका छन् । शनिबार (भदौ ६) कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’का क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्न आह्वान गरे । कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उनले संस्थापनइतर समूहका नेताहरूलाई संवादमार्फत पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे । मुद्दामामिलाको बाटो कानुनले दिएको भए पनि त्यसले मात्र समाधान नदिने उनको भनाइ थियो ।
'मुद्दामामिलाको बाटो संविधानले, कानुनले दिन्छ, त्यसमा जाँदै गर्दाखेरि हामीले त्यसमा नकारात्मक टिप्पणी गर्दैनौँ,' उनले भने, 'तर, अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानु छ ।'
उनले आउँदो असोजमा पार्टीको महाधिवेशन हुने भएकाले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताए । विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्ष निरन्तर नरहने उनले उल्लेख गरे ।
'विशेष महाधिवेशनपछि पाँच वर्षलाई आएको नेतृत्व होइन, असोजको महिनामा महाधिवेशन हुँदै छ,' उनले भने, 'कसले आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ । हामी त्यही कुराको लागि अपिल पनि गर्न चाहन्छौँ ।'
उनले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।
विशेष महाधिवेशनको वैधानिक प्रक्रियाका विषयमा कांग्रेसभित्र आन्तरिक विवाद छ । उक्त विवाद अदालतसम्म पुगेको छ ।
यस्तै, कांग्रेस संस्थापन पक्षले असोजमा गर्ने गरी घोषणा गरेको महाधिवेशन रोक्न इतर समूह कानुनी प्रक्रिया थालेको छ ।