सँगै मजदुरी गर्ने साथीमाथि चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ

बागलुङ । बागलुङ काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । उक्त घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

गत साउन २६ गते राति अन्दाजी ९ः४० बजेको समयमा काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बस्दै आएका ढोरपाटन नगरपालिका–७ स्थायी वतन भई हाल ढोरपाटन नगरपालिका–५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ घर भएका २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो हतियार प्रहार गरी ज्यान लिएको खुल्न आएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय मानिसहरूसँग समन्वय गरी घटनापश्चात् भाग्न नपाउँदै अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन नगरपालिका–५ घर भएका ३६ वर्षीय रिखे दमाईलाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेराबाट सोही दिन राति पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा अशोक खत्री, अर्जुन घर्ती मगर र रिखे दमाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेरामा बस्ने देबेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने काम गर्न घरबाट हिँडेका थिए । बाटोमा अशोक खत्रीको घरमा काम परेपछि उनी बीचबाटोबाटै घर फर्किएका थिए भने अर्जुन घर्ती मगर र रिखे दमाई काम गर्ने स्थानमा पुगेका थिए ।

गत साउन २४ गते अशोक खत्री काम गर्नका लागि अन्य दुई जना काम गरिरहेको स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए । साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य झैझगडा भएको अनुसन्धानबाट खुलेको छ ।

त्यसको भोलिपल्ट दिनको काम सकेपछि तीनै जना सँगै बसी मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विषयलाई लिएर पुनः झैझगडा भएको थियो । सोही क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि धारिलो चक्कुले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

मृतक अशोक खत्रीका १२ वर्ष, ९ वर्ष र ७ वर्षका गरी तीन जना छोरा रहेका छन् । उनकी श्रीमती पुनः गर्भवती रहेको र सम्पूर्ण परिवार अशोक खत्रीमै आश्रित रहेको जनाइएको छ । मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दरखास्त पेस गरेकी छन् ।

वारदातमा प्रयोग भएको चक्कु तथा रगत लागेका कपडासमेतका दशी प्रमाण बरामद गरिएको छ । पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ ।

Share News