ट्रकको ठक्करबाट महिला साइकलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१, आन्दोलन चोकस्थित हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ। कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाएको ना ५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी साइकलयात्री जिल्ला कपिलवस्तु नगरपालिका–२, बर्गदवा बस्ने अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी निशालाई व.प्र.का. तौलिहवा, कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पठाएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

ट्रक तथा ट्रक चालक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नियन्त्रणमा रहेका छन् भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Share News