घरभाडामा कर छुट नपाएपछि रविन्द्र मिश्रले अर्थमन्त्रीलाई गरे प्रश्न

काठमाडौं । राजवादी नेताको परिचय बनाएका रविन्द्र मिश्रले घरभाडामा कर छुट नपाएको भन्दै आक्रोश पोखेका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै बजेटमा १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने उल्लेख भए पनि घर भाडा कर बुझाउन जाँदा छुट नदिइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले घर भाडा मात्र आयस्रोत भएका र अन्य कुनै आयस्रोत नभएका व्यक्तिले समेत कर छुट नपाउने अवस्था रहेको भन्दै प्रश्न उठाएका हुन् ।

‘यो वर्षको बजेटले १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने उल्लेख गरेको थियो । तर, घर भाडा कर बुझाउन जाँदा घर भाडामा कर छुट नहुने बताइयो,’ मिश्रले लेखेका छन् ।

उनका अनुसार बजेटमा एउटा व्यवस्था उल्लेख गर्ने तर स्थानीय निकायले त्यसको फरक व्याख्या वा अधिकार निर्धारण गर्ने अवस्था देखिएको छ । यसअघि पनि यस्तै समस्या देखिएको उल्लेख गर्दै उनले यसपटक भने सार्वजनिक रूपमा विषय उठाउने निर्णय गरेको बताएका छन् ।

मिश्रले यस्तो व्यवस्थाले इमानदार करदातालाई ठूलो मर्का पर्न सक्ने भन्दै आवश्यक संशोधन गरेर समस्या समाधान गर्न अर्थमन्त्री वाग्लेसँग आग्रह गरेका छन् ।

‘यो त अति भयो अर्थमन्त्रीज्यू । कसरी, के संशोधन गरेर मिलाउनुपर्ने हो, मिलाउनुप¥यो । नत्र धेरै इमानदार करदातालाई ठूलो मर्का पर्ने देखियो,’ उनले भनेका छन् । 

Share News