काठमाडौं । सङ्घीय संसद् मातहतका नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले संसद्का विभिन्न समितिहरूले आज एकै दिन आफ्नो बैठक राखेका हुन् ।
समितिहरूले विभिन्न विधेयकमाथिको छलफलदेखि सरकारी निकायका कामकारबाही, विकास आयोजना, वैदेशिक सहायता र कृषि तथा पर्यटन क्षेत्रका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची तय गरेका छन् ।
अर्थसमितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई समितिमा आमन्त्रण गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपालसहित पर्यटन क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरिनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री–वितरणको अवस्था सुधार गर्ने विषयमा उत्पादकहरूसँग छलफल हुनेछ । रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै कृषि उत्पादनमा नकारात्मक असर नपर्ने उपायबारे समेत छलफल गरिनेछ। बैठक बिहान १० बजे बस्नेछ ।
यसैगरी, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल गरिनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत समसामयिक विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गरिनेछ ।
त्यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको लेखापरीक्षणसम्बन्धी विषयमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक भने अपराह्न १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिनेछ ।
यसरी आज बस्ने नौवटै समितिका बैठकमा कानून निर्माण, सार्वजनिक प्रशासन, सुशासन, विकास आयोजना, कृषि, पर्यटन र सार्वजनिक वित्तसँग सम्बन्धित विषयले प्राथमिकता पाउने भएका छन् ।