हंगेरीमा पोल्यान्डको बस दुर्घटना : १२ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । पूर्वी हंगेरीमा आइतबार राति राजमार्गमा पोल्यान्डको एउटा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् ।

हंगेरीका प्रधानमन्त्री पिटर म्याग्यारले आइतबार बिहान फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

प्रहरीका अनुसार पूर्वी हंगेरीको मेजोकरेस्तेस सहरनजिकै आइतबार बिहान बस सडकबाट खाल्डोमा खसेपछि पल्टिएको थियो । बस राजमार्ग हुँदै न्यिरेग्यहाजा सहरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

राज्य समाचार संस्था एमटीआईका अनुसार बसमा ५७ जना यात्रु र दुई जना चालक थिए ।

प्रहरीले आफ्नो वेबसाइटमा जारी गरेको प्रारम्भिक विवरणअनुसार न्यिरेग्यहाजातर्फ जाँदै गरेको पोल्यान्डमा दर्ता भएको बस सिधा सडकखण्डबाट अचानक सडकबाहिरिएर खाल्डोमा खसेपछि पल्टिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा चालक निदाएको हुन सक्ने आशंका गरिएको छ ।

पोल्यान्डका राष्ट्रपति कारोेल नाभ्रोस्कीले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा आफ्ना धेरै नागरिकको मृत्यु भएको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ।

पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पनि हंगेरीमा पोल्यान्डका पर्यटक सवार बस दुर्घटनामा परेको जानकारी दिएका छन् । उनले हंगेरीका अधिकारीहरूसँग सम्पर्कमा रहेको र पोल्यान्डको कन्सुलर सेवा सक्रिय रहेको बताएका छन् । 

Share News