तृणमुल कंग्रेसका नेता तथा पूर्वमन्त्री आशीष बनर्जीको शव पार्टी कार्यालयमा फेला

काठमाडौं । ममता बनर्जी नेतृत्वको सरकारमा मन्त्री तथा विधानसभा उपाध्यक्षसमेत रहेका आशीष बनर्जीको शव आइतबार बिहान उनको निवाससँगै रहेको पार्टी कार्यालयमा भेटिएको छ ।

उनी पश्चिम बंगालको बीरभूम जिल्लास्थित रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए ।

प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार एउटा कोठामा उनको शव फेला परेको थियो । उनको निधनको कारणबारे हाल अनुसन्धान भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोट पनि फेला परेको छ । यद्यपि अधिकारीहरूले त्यसबारे थप जानकारी दिन अस्वीकार गरेका छन् । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । 

आशीष सन् २००१ देखि लगातार रामपुरहाटबाट चुनाव जित्दै आएका थिए । तर यस वर्षको निर्वाचनमा उनी भाजपा उम्मेदवार ध्रुव साहासँग पराजित भएका थिए ।

स्थानीय बासिन्दाले सबैभन्दा पहिले आशीषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको रामपुरहाट प्रहरी टोलीले शव बरामद गरेको हो ।

आशीष बनर्जी ममता बनर्जी नेतृत्वको सरकारमा विद्यालय शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए । सन् २०२१ मा उनलाई विधानसभा उपाध्यक्ष बनाइएको थियो ।

आशीषले बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेपछि रामपुरहाट कलेजमा अध्यापनबाट आफ्नो करियर सुरु गरेका थिए । पछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनलाई ममता बनर्जीका निकट नेताका रूपमा चिनिन्थ्यो ।

Share News