कुन महानगरमा कति पर्छ जग्गाको मूल्य ?

काठमाडौं । देशका प्रमुख ६ मध्ये पाँच महानगरपालिकाहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरेका छन् । महानगरहरुले ल्याएको आर्थिक ऐन अनुसार विभिन्न क्षेत्रको जग्गाको नयाँ सरकारी मूल्याङ्कन दर सार्वजनिक गरेका हुन् । 

नयाँ व्यवस्थाअनुसार देशकै राजधानी काठमाडौंभन्दा बाहिर भरतपुर महानगरपालिकाभित्रको जग्गाको मूल्य तीव्र रुपमा बढिरहेको छ । नयाँ बजार विस्तार र तीव्र आर्थिक गतिविधि भइरहेको भरतपुर महानगरपालिकामा जग्गाको मुल्य काठमाडौं महानगरभित्र भन्दा उच्च देखिएको छ ।

भरतपुर महानगरपालिकामा जग्गाको मूल्याङ्कन प्रति कठ्ठा साढे ३ करोड रुपैयाँ नजिक पुगेको छ भने राजधानीको मुटु मानिने काठमाडौँ महानगरपालिकाको न्युरोड क्षेत्रमा प्रति आना ५० लाख रुपैयाँ मात्रै कायम गरिएको छ । 

महानगरपालिकाहरूले भौगोलिक अवस्थिति, सडकको पहुँच र व्यावसायिक महत्वका आधारमा वर्गीकरण गरी नयाँ जग्गा दर तोकेका हुन् । क्षेत्रफल मापनको एकाइ फरक–फरक (आना, रोपनी र कठ्ठा) भए पनि सबै महानगरमा व्यापारिक हब बनेका क्षेत्रकै जग्गा सबैभन्दा महँगो देखिएको छ । 

नयाँ व्यवस्थाअनुसार भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा जग्गाको मूल्य सबैभन्दा उच्च छ । यस क्षेत्रअन्र्तगत लायन्स चोकबाट शहीद चोक पुल्चोक हुँदै नारायणी पुलसम्मका (शहीदपाथ) महेन्द्र राजमार्गसँगै जोडिएका जग्गाहरु पर्दछन् । यस क्षेत्रको व्यावसायिक क्षेत्रको जग्गाको दर प्रति कठ्ठा ३ करोड ३८ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

यही क्षेत्रको आवासीय प्रयोजनका लागि प्रति कठ्ठा ३ करोड २३ लाख ४० हजार रुपैयाँ, औद्योगिक क्षेत्रका लागि ३ करोड ८ लाख रुपैयाँ र कृषि क्षेत्रका लागि २ करोड ६१ लाख ८० हजार मूल्यांकन दर कायम गरिएको छ ।

भरतपुर महानगरमित्र सबैभन्दा कम जग्गाको मूल्यांकन वडा नं. २९ को कविलास क्षेत्रमा रहेको छ ।  उक्त वडा (साविक कविलास गा.वि.स. र जुगेडी क्षेत्र), विशेषगरी लामता गाउँ, वाङ्गेताल र ढोटनी आसपासका बाटो नभएका जग्गाहरू पर्दछन् ।

यस क्षेत्रको कृषि क्षेत्रको बाटो नभएको जग्गाको दर प्रति कठ्ठा ९३ हजार ५०० त्रियानब्बे हजार पाँच सय रुपैयाँ तोकिएको छ । त्यस्तै आवसीय क्षेत्रका लागि प्रति कठ्ठा  १ लाख १५ हजार ५ सय रुपैयाँ, व्यावसायिक क्षेत्रका लागिप्रति कठ्ठा  १ लाख २१ हजार र औद्योगिक क्षेत्रका लागि प्रति कठ्ठा १ लाख १० हजार रुपैयाँ तोकिएको छ ।

काठमाडौँ महानगरपालिकामा ऐतिहासिक एवं देशकै प्रमुख व्यापारिक केन्द्रको रुपमा लिइने न्युरोड क्षेत्रमा जग्गाको मूल्याङ्कन प्रति आना ५० लाख रुपैयाँ रहेको छ । यसलाई रोपनीमा रूपान्तरण गर्दा (१६ आना बराबर १ रोपनी) न्युरोडको जग्गाको सरकारी मूल्य मात्रै प्रति रोपनी ८ करोड रुपैयाँ हुन आउँछ ।

प्रतिआना ५० लाख मूल्यांकन गरिएको जग्गाहरु हनुमानढोका पूर्व नयाँ सडक, पुरानो काठमाडौं महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिकदेखि इन्द्रचोक, खिचापोखरी र धरहरासम्मका मूल सडकहरू रहेका छन् ।

त्यस्तै न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौं महानगरपालिकाका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरु यस क्षेत्रमा पर्दछन् ।
 
त्यस्तै केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मुलवाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू यस क्षेत्रमा पर्दछन् । 

माइतीघर, सिंहदरवार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूहरुको मूल्यांकन पनि ५० लाख रुपैयाँ नै तोकिएको छ । 

यस्तै जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वर सम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ । 

महानगरपालिकाले सबैभन्दा कम जग्गाको मूल्यांकन  वडा नं. १४ अन्तर्गतका विभिन्न सहायक मार्गहरूमा पर्ने र बाटो नभएको जग्गाहरूको मूल्याङ्कन प्रति आना ४ लाख रुपैयाँ तोकिएको छ । 

यसबाहेक केही अन्य क्षेत्रहरूमा पनि कम मूल्याङ्कन तोकिएको छ, वडा नं. ६ र ७ वडाहरूमा जग्गाहरूको मूल्याङ्कन ५ लाख रुपैयाँ तोकिएको छ । वडा नं. १३ मा बाटो नभएको जग्गाको मूल्याङ्कन ५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

ललितपुरको सैंफुमा सबैभन्दा महँगो 

त्यस्तै, ललितपुर महानगरपालिकामा सबैभन्दा महँगो जग्गा सैफूँ क्षेत्रको विकसित जग्गालाई मानिएको छ । ललितपुर महानगरको आर्थिक ऐनले सैफूँ क्षेत्रको व्यवस्थित र विकसित जग्गाको मूल्य प्रति रोपनी १ करोड ९२ लाख रुपैयाँ तोकिएको छ ।

सैफूँ पछिको दोस्रो उच्च मूल्यांकन  सैंबुकै पिच सडकसँग प्रति रोपनी एक करोड २८ लाख रहेको छ । यो मूल्यांकन महानगरका विभिन्न वडाका मूल पिच सडकसँग जोडिएका जग्गाहरूका लागि तोकिएको छ, जसमा साविक वडा नं. १ हालको वडा नं. १ र १०, वडा नं. ३ का मूल पिच सडकसँग जोडिएका जग्गाहरू, वडा नं. ४ र १३ को चक्रपथ भित्र पर्ने क्षेत्रहरू,  वडा नं. ५, १४ र १५ को चक्रपथ भित्र पर्ने मूल पिच सडकका जग्गाहरू पर्दछन् ।  त्यस्तै वडा नं. १२, १९ र २० का मूल पिच सडकका जग्गाहरू रहेका छन् । 

न्युनतम मूल्य वडा नं. ९ मा पर्ने गोरेटो बाटोसँग जोडिएका जग्गाहरूको मूल्यांकन प्रति रोपनी छ लाख दश हजार तोकिएको छ । अन्य कम मूल्यांकन भएका क्षेत्रहरूःहरुमा वडा नं. ४ र १३ (चक्रपथ बाहिर) पर्दछन् । यहाँको गोरेटो बाटोसँग जोडिएको जग्गाको मूल्यांकन प्रति रोपनी ७ लाख १५ हजार रहेको छ । त्यसैगरी  वडा नं. ६ र १७ (चक्रपथ भित्र)का जग्गाका मूल्यांकन न्युनतमअन्र्तगत तोएिको छ ।  यहाँको गोरेटो बाटोसँग जोडिएको जग्गाको मूल्यांकन प्रति रोपनी ८ लाख रुपैयाँ तोकिएको छ । 

पोखरामा कति छ मूल्य ? 

पोखरा महानगरपालिकाले आर्थिक ऐन सार्वजनिक गरेको छैन । यद्यपि मालपोत कार्यालयले भने आव २०८३/८४ को लागि जग्गा नयाँ मूल्य निर्धारण गरेको छ । 

सबैभन्दा बढी मूल्यांकन  पोखरा महानगर वडा नं. ६ अन्तर्गत जिल्ला अदालतदेखि हल्लनचोकसम्मको मुख्य सडकमा जग्गाको मूल्यांकन प्रति वर्गमिटर १ लाख रुपैयाँ तोकिएको छ । मालपोत कार्यालयले १ रोपनी जग्गा बराबर ५०८.७४ वर्गमिटर हुने उल्लेख गरिएको छ । यसअनुसार उक्त जग्गाको मूल्य प्रति रोपनी ५ करोड ८ लाख ७४ हजार रुपैयाँ पर्न आउँछ ।

अन्य उच्च मूल्यांकन भएका क्षेत्रहरू वडा नं. ८ को न्यूरोडमा पर्ने मुख्य पक्की सडक (वि.पि. मार्ग समेत) को मूल्यांकन प्रति वर्गमिटर ९० हजार रुपैयाँ रहेको छ । त्यस्तै  वडा नं. ६ कै हल्लनचोक हुँदै खहरे गैराको चौतारासम्म र हल्लनचोक हुँदै जरेबर बुलादी खोला वडा नं. ५ को सिमानासम्म पनि प्रति वर्गमिटर ९० हजार रुपैयाँ कायम गरिएको छ ।

वडा नं. ४ को पालिखे चोकदेखि महेन्द्रपुल हुँदै सिद्धार्थ चोकसम्मको मूल्य प्रति वर्गमिटर ८० हजार रुपैयाँ रहेको छ । वडा नं. ९ को मुख्य पक्की सडक र पृथ्वीचोकदेखि नयाँबजार हुँदै महेन्द्रपुलसम्मको मूल्य प्रति वर्गमिटर ८५ हजार रुपैयाँ तोकिएको छ ।

विराटनगरमा डेढ करोड 

विराटनगर महानगरपालिकाले मालपोत कार्यालयले निर्धारण गरेको दरअनुसार नै महानगरहरुको जग्गाको मूल्याकन गरिएको छ । विराटनगर महानगरपालिकाले आफ्नो साविकका ११ वटा वडाहरूलाई महँगो सूचीमा राखेको छ । साविक विराटनगर वडा नं. १, २, ३, ४, ८, ९, १०, १२, १३, १४ र १५ का क्षेत्रहरूमा जग्गाको मूल्याङ्कन सबैभन्दा उच्च छ । यी वडाहरूमा पर्ने ‘क’ वर्ग अन्तर्गतका मुख्य कालोपत्रे (पिच) सडकको दायाँबायाँ रहेका जग्गाहरूको सरकारी मूल्य प्रति कठ्ठा १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ । यी वडाहरु विराटनगरको प्रमुख बजार क्षेत्र र प्रमुख सडक आसपासका क्षेत्रलाई जनाउँछ  ।

साविक वडा नं. १ अन्र्तगत विराटनगर–विराटचौक पिच सडक, मेनरोड, पानीटंकी उत्तर, शान्ता मार्ग, नेतामार्ग, नवरंगी मार्ग, रामलक्ष्मण मार्ग, सृजना पथ, भुपाल मार्ग र पानीटंकी चोक क्षेत्र पर्दछन् । 

वडा नं २ अन्र्तगत शनिहाट चोक, बञ्जरा चोक, तीनपैनी मार्ग, हाटखोला, हनुमान मार्ग, बजरंगबलि पथ, सेन्ट जोसेफ स्कूल क्षेत्र, धर्मभक्त पथ, भानुमार्ग र शिक्षामार्ग पर्दछन् । 

त्यस्तै साविक वडा नं३ अन्र्तगत विराटनगर–धरान सडक (कोशी मार्ग), राजवंशी चोक, मानगढ चोक, पुष्पलाल चोक, साविक ल क्याम्पस क्षेत्र, दुध फाराम चोक, औषधि व्यवस्था, बह्रिबारे हाट, पीपल चोक र बरगाछी पर्दछन् । 

साविक वडा नं ४  विराटनगर–विराटचौक रोड, विराटनगर ढाट, कञ्चनवारी चोक, एयरपोर्ट चोक, सहकारी चोक, नोबेल हस्पीटल क्षेत्र, गोधुली मार्ग, चाँदनी चोक र जामुनगाछी चोक रहेका छन् । त्यसैगरी साविक वडा नं. ८ अन्र्तगत शनिहाट चोकबाट उत्तरतर्फ जाने बञ्जरा चोक हुँदै तीनपैनी मार्ग जोडिएका क्षेत्रहरू, साविक वडा नं. ९ अन्र्तगत पीपल चोक आसपास र पोखरिया पुल जाने सहायक पिच सडक क्षेत्रहरू पर्दछन् । 

साविक वडा नं. १० मा हालको वडा नं. १५ मा पर्ने सम्पूर्ण क्षेत्रहरू पर्दछन् ।  साविक वडा १२ अन्र्तगत जोगबनी जाने पुरानो सडक, कामत चोक, मंगलबारे हटिया, आपबगैचा, दरैया जाने बाटो, कलेज रोड, जनपथ मार्ग र बौद्ध मार्ग, साविक वडा नं. १३अन्र्तगत मलाया सडक, रोडशेष चोकदेखि जोगबनी जाने पुरानो बाटो, भूमिसुधार चोक र पुरानो सोमबारे हाट जाने क्षेत्र पर्दछन् । त्यस्तै साविक वडा नं. १४ अन्र्तगत जोगबनी जाने पुरानो सडक दायाँबायाँका क्षेत्रहरू रहेका छन् । 

साविक वडा नं. १५ अन्र्तगत साविक बखरीका केही क्षेत्रहरू (हाल वडा ११ मा पर्ने) जस्तै बसपार्कदेखि पिछरा जाने सडक, जनपथ मार्ग, धरणीधर मार्ग, पिछरा चोक र पाञ्चाली मार्ग क्षेत्रहरु पर्दछन् । 

यसका अतिरिक्त अन्य केही उच्च मूल्याङ्कन भएका प्रमुख स्थानहरू साविक बखरी ८क (हाल विराटनगर वडा नं. ५ अन्र्तगत धरान–विराटनगर सडकसँग जोडिएको व्यवसायिक जग्गाको मूल्य प्रति कठ्ठा १ करोड १३ लाख ३० हजार तोकिएको छ । 

धरान–विराटनगर मलाया सडकसँग जोडिएका दायाँबायाँका व्यवसायिक जग्गाहरूको मूल्याङ्कन प्रति कठ्ठा रु. १ करोड ०८ लाख रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै साविक विराटनगर वडा नं. ८ हाल ५, १० र २ अन्र्तगत शनिहाट चोकबाट उत्तरतर्फ जाने बञ्जरा चोक हुँदै तीनपैनी मार्ग जोडिएका व्यवसायिक जग्गाहरूको मूल्य प्रति कठ्ठा ८१ लाख ३५ हजार तोकिएको छ ।
 

Share News