काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा पराजित भएकाहरूले अरूमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गरेका हुन् । नेता खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उनले कुनै पनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताएका छन् । पार्टीभित्रको आन्तरिक कलह र ‘रडाको’ले कांग्रेसलाई कमजोर बनाएको भन्दै यस्तै गतिविधिले पार्टीलाई अहिलेको अवस्थामा पुर्याउन मुख्य भूमिका खेलेको उनको आरोप छ।
पार्टीभित्रको विवाद र जनमतबारे स्पष्ट पार्दै उनले भने, ‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन् । जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ ? निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ। कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ ।’
अहिलेको सरकार र युवा नेतृत्वको गतिविधिको मूल्याङ्कन गर्ने समय बाँकी रहेको उल्लेख गर्दै खड्काले आगामी पाँच वर्षसम्म साङ्गठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने सुझाव दिएका छन् । उनले आफ्ना गल्तीहरू स्वीकार गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न संस्थापन पक्षका नेताहरूलाई आग्रहसमेत गरेका छन् ।