काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी छन् ।
लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन् ।
उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भएको भन्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी सेवा सुचारु गर्ने बताइन् ।
उनले भनिन्, ‘ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सकहरू आवश्यक पर्छन्। तर लहान राजमार्गमा अवस्थित भएको र यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पताल जस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले हामी तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ । विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ। बीमाका केही प्याकेजहरू अवैज्ञानिक रहेकाले त्यसलाई पुनरवलोकन गर्ने काम भइरहेको छ ।’
स्वास्थ्य बीमाको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको बताइन् । उनले निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यथावत रहेको बताइन् ।
तथ्यांकअनुसार करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले बीमाको प्रभावकारिता बढाउन सरकार लागिपरेको उनको दाबी छ ।
तराई क्षेत्रमा देखिएको ‘एन्टी स्नेक भेनम’को अभावका विषयमा मन्त्री मेहताले काठमाडौंमा ८ हजार ५ सय भायल औषधि आइपुगेको र आइतबारदेखि नै देशका विभिन्न भागमा वितरण सुरु हुने बताइन् । केही अस्पताल र सैनिक क्याम्पहरूमा मौज्दात कमी भए पनि पूर्ण रूपमा अभाव हुन नदिने उनले बताइन् ।