काठमाडौं । यस साता सेयर बजार सामान्य उतारचढावका बीच २.७७ अंकले बढेको छ । गत साताको शुक्रबार २६५०.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता ०.२४ प्रतिशत अर्थात् ६.२६ अंकले घटेर २६४३.८३ विन्दुमा झरेको छ ।
साताको पहिलो कारोबार दिन सोमबार २ हजार ६४१.०६ विन्दुमा रहेको नेप्से परिसूचक शुक्रबारसम्म आइपुग्दा २ हजार ६४३.८३ विन्दुमा पुगेको हो ।
साताभर बजारमा ठूलो उतारचढाव देखिएन । सोमबार नेप्से घटे पनि त्यसपछि लगातार तीन दिन सामान्य अंकले बढेको थियो । शुक्रबार भने पुनः ७.३७ अंकले घटेको छ ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से ९.०२ अंकले घटेर २ हजार ६४१.०६ विन्दुमा झरेको थियो।
सो दिन ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। ३५२ कम्पनीको करिब १ करोड कित्ता सेयर किनबेच भएको थियो।
मंगलबार नेप्से ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोलु हाइड्रोपावरको सबैभन्दा धेरै ४४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। युनाइटेड हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा धेरै कमाए। कम्पनीको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको थियो।
बुधबार नेप्से ०.५५ अंकले बढेर २ हजार ६४२ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।
बिहीबार बजारमा केही सुधार देखियो । नेप्से ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । घलेम्दी हाइड्रोको सबैभन्दा धेरै २९ करोड रुपैयाँ बराबरको कारोबार भयो । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से ७.३७ अंकले घटेर २ हजार ६४३.८३ विन्दुमा झरेको छ ।शुक्रबार ३४४ कम्पनीको करिब ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमका आधारमा एग्रिकल्चरल बोन्ड शीर्ष स्थानमा रह्यो। यसको करिब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, खानीखोला हाइड्रोको १७ करोड, लिबर्टी इनर्जीको १६ करोड र न्यादी हाइड्रोको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबार माउन्ट एभरेस्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।
१९ अर्ब ३० करोडभन्दा बढीको कारोबार
यस साता पाँच कारोबार दिनमा गरी करिब १९ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समग्रमा हेर्दा साताको सुरुवातमा घटेको बजार त्यसपछि तीन दिन सामान्य बढ्यो । तर अन्तिम दिन पुनः गिरावट आए पनि साताको सुरुवातको तुलनामा नेप्से परिसूचक २.७७ अंकले माथि रहेको छ ।
यसले साताभर बजारमा ठूलो उतारचढाव नभएको देखाउँछ। कारोबार रकम भने अधिकांश दिन ३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।