काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा केयूमै पढेका प्रा.डा. विवेक बराल नियुक्त भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई नियुक्तिपत्र प्रदान गरे ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
गत जेठ १९ गते बसेको काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेका थिए ।
बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।
उनी केयूमै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् । उनी विश्वविद्यालयको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए ।
बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ ।