बैंकहरूको आकर्षक अटो लोन अफर, सेवा शुल्क ०.५ प्रतिशत मात्रै

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) सँग साझेदारी गरेका बैंकहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अटो लोनका लागि विशेष अफर र सुविधा उपलब्ध गराएका छन् । एक्स्पोका को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ साझेदार सिद्धार्थ बैंक र एनएमबी बैंकले विशेष योजनासहित मेलास्थलमै कर्जा सम्बन्धी सेवा प्रदान गरिरहेका छन् ।

आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने वा क्यूआर कोडमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म थप ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन् भने सेवा शुल्क ०.५ प्रतिशत मात्रै राखिएको जनाएका छन् । 

ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल विष्टका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि आवेदन दिने ग्राहकको संख्या दैनिक रूपमा बढिरहेको छ । उनका अनुसार बैंकले मेलास्थलमै ग्राहकलाई आवश्यक जानकारी उपलब्ध गराउँदै शाखासम्म पहुँच बनाउन सहजीकरण गरिरहेको छ ।

सिद्धार्थ बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमार्फत संकलन गरिएका विवरण केन्द्रीय कार्यालयमा पठाइने र त्यसपछि सम्बन्धित शाखाले ग्राहकसँग सम्पर्क गर्ने व्यवस्था रहेको बताए । उनले सवारीसाधन खरिदका लागि कर्जा लिन इच्छुक ग्राहकको संख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गरे ।

एनएमबी बैंकले पनि मेलास्थलमा स्थापना गरिएको स्टलमार्फत अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइरहेको जनाएको छ । बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तका अनुसार नाइमा एक्स्पोलाई लक्षित गर्दै बैंकले ब्याजदर पुनरावलोकन गरेको हो । उनले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताइन् ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन उत्पादक र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

यस वर्षको एक्स्पोमा नेपालमा पहिलो पटक भित्रिएका ब्रान्डसहित नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएका छन् । 

Share News