काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यबारे गरेको दाबीको जवाफ दिएका छन् ।
ट्रम्पले अमेरिकाले होर्मुज जलडमरूमध्यमा पूर्ण नियन्त्रण कायम गरेको बताएका थिए ।
इजरायली समाचार एजेन्सीका अनुसार अराघ्चीले अमेरिकाले पटक–पटक गलत गुप्तचर सूचनाका कारण असफलता बेहोर्दै आएको दाबी गर्दै रणनीतिक जलमार्गलाई लिएर अमेरिका ठूलो भ्रमको सिकार भएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा अराघ्चीले लेखेका छन्, ‘गलत गुप्तचर सूचनाका कारण अमेरिकाले लामो समयदेखि गल्ती गर्दै आएको छ । यसको उदाहरण इरानविरुद्धको युद्ध नै हो । अहिले होर्मुज जलडमरूमध्यका विषयमा त्योभन्दा पनि ठूलो गल्ती गरिरहेको छ । नक्कली समाचारभन्दा गलत गुप्तचर सूचना अझ खराब हुन्छ। सावधान रहनुहोस् ।’
केही दिनअघि ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको र आफूहरूले त्यसलाई कायम राख्ने दाबी गरेका थिए ।
उनले हर्मुज क्षेत्रमा अमेरिकी नौसेनाको तैनाथीलाई ‘स्टिलको पर्खाल’को संज्ञा दिँदै इरानसँग त्यसको सामना गर्ने क्षमता नरहेको बताएका थिए ।