क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी पार्टनर तथा मोडल-इन्फ्लुएन्सर जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् । 

करिब एक दशक लामो सम्बन्धपछि उनीहरूले पोर्चुगलमा विवाह गरेका हुन् ।

रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा लिस्बननजिकै समुद्री किनारमा रहेको कास्काइस सहरमा विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

समारोहलाई निजी राखिएको थियो। विवाहमा रोनाल्डोका पाँचै सन्तान पनि उपस्थित थिए ।

विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा विवाहको औंठी देखिने तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा दुवैको हातमा विवाहको औंठी देखिन्छ । 

पोस्टमा ‘सी जी’ लेखिएको थियो । तस्बिर सार्वजनिक भएको केही समयमै त्यसले लाखौं लाइक्स पाएको थियो ।

रोनाल्डो र जर्जिनाको सम्बन्ध सन् २०१६ मा सुरु भएको थियो। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्चीको एक स्टोरमा भएको थियो ।  त्यतिबेला जर्जिना उक्त स्टोरमा बिक्री सहायकका रूपमा काम गर्थिन् भने रोनाल्डो रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए । 

उनीहरू सन् २०१७ मा पहिलोपटक सार्वजनिक रूपमा सँगै देखिएका थिए ।

रोनाल्डोका कुल पाँच सन्तान छन् । जर्जिना रोनाल्डोका परिवारसँग लामो समयदेखि नजिक रहेकी छन् र उनका सन्तानको हेरचाहमा पनि संलग्न हुँदै आएकी छन् ।

विवाहअघि उनीहरूले गत वर्ष अगस्ट ११ मा इन्गेजमेन्ट घोषणा गरेका थिए । 

जर्जिनाले सामाजिक सञ्जालमा ठूलो हिरा जडित औंठीको तस्बिर सार्वजनिक गर्दै रोनाल्डोसँग यस जीवनमा मात्र नभई आफूले पाउने हरेक जीवनमा पनि सँगै रहन तयार रहेको सन्देश दिएकी थिइन् ।

जर्जिना मोडल तथा सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनको जीवन र रोनाल्डोसँगको पारिवारिक सम्बन्धलाई समेटेर ‘आइएम जर्जिना’ नामक नेटफ्लिक्स डकुमेन्ट्री सिरिजसमेत बनेको छ ।

रोनाल्डो भने अहिले साउदी अरबको क्लब अल–नसरबाट खेलिरहेका छन् । उनले सन् २०२५ मा क्लबमा आफ्नो सम्झौता थप गर्दै सन् २०२७ सम्म निरन्तरता दिने घोषणा गरेका थिए ।

करिब १० वर्षदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाको विवाह लामो समयदेखि विश्वभरका फुटबलप्रेमीको चासोको विषय बनेको थियो । इन्गेजमेन्टको एक वर्षपछि उनीहरूले अन्ततः विवाह गरेका हुन् ।

Share News