एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ‘एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गर्ने निर्णय गरेको हो । 

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा प्रश्न उठेपछि सरकारले २०८० मंसिरमा पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिलाई एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया, त्यससँग जोडिएका कानुनी तथा वित्तीय पक्ष र सम्भावित राजस्व तथा नियामकीय प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो । 

समितिले प्रतिवेदनमा एनसेलको सेयर कारोबारसँग सम्बन्धित विभिन्न कानुनी, वित्तीय तथा नियामकीय प्रश्न उठाउँदै सरकारलाई सुझाव दिएको थियो। प्रतिवेदनमा सेयर खरिद–बिक्री सम्झौताको पारदर्शिता, खरिदकर्ताको वित्तीय तथा प्राविधिक क्षमता, लगानीको स्रोत, राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण र दूरसञ्चार क्षेत्रको नियमनलगायतका विषय समेटिएको उल्लेख छ । 

समितिले एनसेलको सेयर खरिद–बिक्री सम्झौतालाई यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने निष्कर्षसहित खरिदकर्ताको पृष्ठभूमि तथा लगानीको स्रोतमा थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको थियो । त्यस्तै, विगतका सेयर कारोबारमा राजस्व चुहावट, विदेशी मुद्राको अवैध अपचलन तथा सम्पत्ति शुद्धीकरण भएको हुन सक्ने आशंकामा सम्बन्धित निकायबाट थप अनुसन्धान गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा रहेको छ ।

सरकारको पछिल्लो निर्णयसँगै लामो समयदेखि सार्वजनिक बहसमा रहेको एनसेल सेयर खरिद–बिक्री प्रकरणको छानबिन प्रतिवेदन अब सार्वजनिक हुने भएको छ । 
 

Share News