७० लाखको नक्कली करारनामा बनाएर सरकारी कागजात हेरफेर, अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी कागजात सच्याएको, नक्कली करारनामा तयार गरेको र सरकारी छाप दुरुपयोग गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार वडा अध्यक्ष धोवी र वडा सचिव वीर बहादुर थापा मगरले विकास कुमार चापागाईँ र रविन्द्र लामिछानेसँग मिलेमतो गरेका थिए ।

उनीहरूले गैरकानुनी लाभ लिने–दिलाउने उद्देश्यले प्रमाण सिर्जना गरेको आयोगको दाबी छ ।

अनुसन्धानका क्रममा २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईँबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको झुट्टा तथा नक्कली करारनामा तयार गरिएको खुलेको छ ।

उक्त करारनामालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा सच्याई थपघट गरी प्रमाणित गरिएको अख्तियारले जनाएको छ ।

त्यसक्रममा वडा कार्यालयको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ ।

त्यस्तै, वडा अध्यक्ष धोवी र सचिव थापा मगरले २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरण फेरबदल गरी चलानी नम्बर ७२४२ गतेको झुट्टा विवरणसहितको गलत लिखत तयार गरेको अख्तियारले जनाएको छ ।

उक्त गलत लिखत आयोगको अभिलेखमा रहने गरी पत्राचारसमेत गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

अख्तियारले वडा अध्यक्ष धोवीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।

वडा सचिव थापा मगरविरुद्ध दफा ९ बमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।

त्यस्तै, नेपालगञ्ज–२० का रविन्द्र लामिछाने र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का विकास कुमार चापागाईँलाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चारै जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

Share News