नाइमा एक्स्पोको तयारी पूरा, मंगलबारदेखि ५५ ब्रान्डहरूको कुम्भमेला

भृकुटीमण्डप यतिबेला नयाँ र आधुनिक गाडीहरूको चमकधमकले भरिने पर्खाइमा छ ।

काठमाडौं । राजधानीको भृकुटीमण्डप यतिबेला नयाँ र आधुनिक गाडीहरूको चमकधमकले भरिने पर्खाइमा छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

५५ ब्रान्ड र ५१ स्टलहरूको रौनक मंगलबारदेखि सुरु हुने यस एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहने जनाइएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलभित्र ५१ वटा भन्दा बढी स्टलहरू निर्माण भइरहेका छन् । निर्माण कार्यमा संलग्न कामदारहरू दिनरात नभनी स्टलहरूलाई अन्तिम रूप दिन व्यस्त देखिन्छन् । 

कोही पेन्टिङमा व्यस्त छन् भने कोही लाइटिङ र डेकोरेसनमा । कतिपय स्टलहरूले आफ्नो ब्रान्डको पहिचान झल्काउने गरी विशेष र विलासी डिजाइनहरू तयार पारेका छन् । यस पटकको एक्स्पोको मुख्य आकर्षण भनेको ४० वटा नयाँ ब्रान्ड तथा मोडलहरूको सार्वजनिक हुनु हो । अटो प्रेमीहरूका लागि यो निकै उत्साहजनक खबर हो । 

प्रदर्शनीमा बिवाइडी, निसान, टाटा, टोयोटा, हुण्डाई, किया, महिन्द्राजस्ता स्थापित ब्रान्डका साथै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता नयाँ ब्रान्डहरू पनि देखिनेछन् । यसैगरी पारामाउन्ट मोटर्सको स्टलमा विशेष आकर्षण रहनेछ होङ्ची गुओली ब्रान्डको गाडी । यो त्यही ब्रान्ड हो जुन चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने गर्छन् । 

पारामाउन्ट मोटर्सले मात्रै ८ वटा नयाँ मोडल लन्च गर्दैछ । त्यस्तै, टोयोटाले आफ्नो स्टलमा दुईवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । टोयोटाले एक्स्पो अवधिभर गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको भारी छुट दिने घोषणा समेत गरेको छ । जसले ग्राहकहरूलाई निकै आकर्षित गर्ने देखिन्छ ।

दुई पाङ्ग्रे सवारी र विद्युतीय प्रविधि एक्स्पोमा चार पाङ्ग्रे मात्र नभई दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको पनि उत्तिकै बलियो उपस्थिति रहनेछ। टिभीएस लगायतका ब्रान्डहरूले आफ्ना नयाँ स्कुटर र बाइकहरू प्रदर्शन गर्नेछन् ।
 
पछिल्लो समय लोकप्रियता कमाइरहेका विद्युतीय सवारी (ईभी) हरू यस मेलाको मुख्य हिस्सा रहनेछन । प्रदर्शनी हेर्न आउने दर्शकहरूको सुविधाका लागि नाइमाले हलभित्र स्पष्ट दिशा निर्देश र पर्याप्त वासरुमको व्यवस्था गरेको छ । 

वर्षायामको मौसम भएकाले बिजुली जाने समस्यालाई मध्यनजर गर्दै ठूला क्षमताका जेनेरेटरहरूको ब्याकअप राखिएको छ, जसले गर्दा प्रदर्शनीमा कुनै पनि समय अन्धकार नहुने र उज्यालोको चमक कायमै रहने सुनिश्चित गरिएको छ । एक्स्पोमा ग्राहकले विभिन्न छुट अफरमा आफ्नो रोजाइका सवारी बुकिङ गर्न सक्नेछन् । 

null

नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा र मोबिलिटीसम्बन्धी विभिन्न उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । यात्रुवाहक विद्युतीय सवारीसाधनसमेत एक्स्पोको प्रमुख आकर्षणका रूपमा रहनेछन् ।

गत वर्ष पहिलोपटक आयोजना गरिएको नाइमा एक्स्पोले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि यसपटक अझ व्यापक बनाइएको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् । उनले गत वर्षको सफलताले एक्स्पोलाई थप विस्तार गर्ने आधार तयार भएको बताइन् ।

‘एक्स्पोमार्फत हामीले आफूलाई नयाँ संस्थाका रूपमा स्थापित गर्न सफल भयौं,’ उनले भनिन्, ‘गत वर्ष ४२ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका थिए । यसपटक त्यो संख्या बढेर ५५ पुगेको छ । ब्रान्डको सहभागिता बढ्नु पनि हाम्रो लागि महत्वपूर्ण सफलता हो ।’

उनका अनुसार नाइमा एक्स्पो केवल सवारीसाधन प्रदर्शन गर्ने थलोमा सीमित नभई अटोमोबाइलप्रेमी, व्यवसायी र आम उपभोक्तालाई एउटै छानामुनि जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । 

‘अटोप्रेमीको एउटा हिस्सा बन्ने गरी नाइमा एक्स्पो आयोजना गर्दैछौं,’ वैद्यले भनिन्, ‘यसलाई अटोमोबाइल क्षेत्रको प्रविधि, नयाँपन र सम्भावनासँग नजिकबाट जोडिने अवसरका रूपमा विकास गर्न चाहन्छौं ।’

गत वर्षको तुलनामा ब्रान्डहरूको संख्या बढेर ४२ बाट ५५ पुग्नुले नेपालको अटोमोबाइल क्षेत्रमा बढ्दो उत्साहलाई झल्काउँछ । साउन २६ गतेदेखि सुरु हुने यो ६ दिने मेलाले नेपालको यातायात क्षेत्रको भविष्य र नयाँ प्रविधिको दिशा तय गर्ने अपेक्षा गरिएको छ । 

गत वर्ष एक्स्पोमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको नाइमाले जनाएको छ । यसपटक भने गत वर्षभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य नाइमाको छ । 

Share News