काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ ।
नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ ।
नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा प्रतीक्षित मेलाका रूपमा लिइने नाडा अटो शोमा यसपटक २०० वटा स्टल रहनेछन् ।
प्रदर्शनीमा २२ वटा ब्रान्डका प्यासेन्जर कार, १६ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् ।
त्यस्तै, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् ।
नाडाका अनुसार देशभरका अटो व्यवसायीमा मेलालाई लिएर उत्साह देखिएको छ। स्टलका लागि अझै पनि उच्च माग भइरहेको आयोजकले जनाएको छ ।
तर प्रदर्शनीस्थलमा पर्याप्त ठाउँ नभएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको नाडाले जनाएको छ ।
अटो शोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहनेछ ।

सुस्ताएको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्ने नाडाको अपेक्षा छ ।
नाडाले स्वर्ण जयन्तीको अवसरमा आयोजना गर्न लागेको अटो शोले अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीलाई व्यापार प्रवर्द्धन र नयाँ उत्पादन सार्वजनिक गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने जनाएको छ ।