काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे दुवै राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।
कार्यक्रमअनुसार प्रधानमन्त्री शाहले सुरुमा भारतीय राजदूतसँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै उनले नेपालका लागि चिनियाँ राजदूतसँग भेट गर्नेछन् ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलोपटक नेपालका दुई ठूला छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् । यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि उनले नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री शाहको आजको भेटवार्तामा नेपाल–भारत तथा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र समसामयिक कूटनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।