काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् ।
सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन्।
सभापति लामिछानेले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ ।’
सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे ।
सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गरे ।
उनले भने, ‘सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौं । मैले अघि पनि भनेँ, यो यात्रामा कहिलेकाहीँ टब्र्युलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ । तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन । हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछौं ।’
सभापति लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको पनि स्वीकार गरे ।
उनले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताए ।
उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।