देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भू-भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ। मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ। पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण गेग्रानसहितको बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Share News