काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार (आज) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको उनले बताए ।
बैठकमा संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन, कांग्रेसको आन्तरिक एकता तथा पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेश लगायत विषयमा छलफल हुन लागेको हो ।
संस्थापन इतर समूहले आगामी साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
बैठक छिटोमा दुई दिनसम्म चल्ने र आवश्यक भए लम्बिन सक्ने प्रवक्ता चालिसेले जानकारी दिए ।
पार्टीभित्रको विवाद चर्किँदै गएपछि संस्थापन इतर समूहले नेतृत्वमाथि एकता कायम गर्न ठोस पहल नगरेको आरोप लगाउँदै छुट्टै राजनीतिक बाटो रोज्ने बताउँदै आएको छ ।
तर, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खुला गरेपछि इतर समूह तत्कालका लागि केही पछि हटेको देखिए पनि कांग्रेस विभाजनको तरबार पुर्णरूपमा हटेको छैन ।
सर्वोच्चको पछिल्लो आदेशपछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति, आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा बैठकमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन् ।
इतर समूहले भने राष्ट्रिय भेलामार्फत पार्टीको वर्तमान अवस्था, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक दिशाबारे धारणा तय गर्ने तयारी गरिरहेको नेता जितजंग बस्नेतले जानकारी दिए।