काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार बिजुली जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । रत्नपार्क वितरण केन्द्र र काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबल जडान, चार्जिङ, पोल जडान, स्ट्रक्चर फिटिङ तथा फिडर प्रिभेन्टिभ मेन्टेनेन्सको काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ बर्से इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । उक्त क्षेत्रमा भीमसेनस्थान फिडरअन्तर्गत विद्युत् आपूर्ति बन्द गरिनेछ ।

त्यस्तै, शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । यी क्षेत्रमा डिल्लीबजार फिडरबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

यसैगरी आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, ¥याडिसन होटल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । उक्त क्षेत्रमा लाजिम्पाट फिडरअन्तर्गत विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा सुचारु गरिने जनाएको छ । विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

Share News