स्पा उद्योगको क्षमता विकासमा नेपाल स्पा संघको जोड

काठमाडौं । नेपाल स्पा संघले ‘स्पा उद्योगको क्षमता विकास’ विषयक क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

शुक्रबार काठमाडौंस्थित शंकर होटलमा एक कार्यक्रम आयोजना गरेर नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यले अन्तक्रिया सम्पन्न गरेको हो ।

नेपाल स्पा संघको सहकार्यमा आयोजित कार्यक्रममा स्पा उद्योगको वर्तमान अवस्था, उद्योगका चुनौती तथा सम्भावना, व्यवसाय सञ्चालनका मापदण्ड, आचारसंहिता, मानव संसाधन व्यवस्थापन तथा नैतिक व्यावसायिक अभ्यासलगायतका विषयमा सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी मानव संशाधन, उद्योगका मापदण्ड तथा नैतिक व्यावसायिक अभ्यास  लगायतका विषयमा समूहगत छलफल गराइएको थियो । 

पाँचवटा समूहमा करिब सय जना सहभागीले छलफल गरी आ–आफ्नो समूहको निष्कर्ष तथा सुझाव प्रस्तुत गरेका थिए । 

साथै सहभागीहरूबाट स्पा तथा वेलनेस उद्योगको वर्तमान अवस्था र आगामी आवश्यकतासम्बन्धी सर्वेक्षणसमेत गरिएको थियो । 

सर्वेक्षणको संक्षेप तथा निष्कर्ष नेपाल स्पा संघका सचिव रामदेव महतोले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरज घिमिरे तथा नेपाल पर्यटन बोर्डकी सदस्य सोभिता श्रेष्ठ ढकालले विशेष मन्तव्य राख्दै नेपालको स्पा तथा वेलनेस उद्योगको विकास, सम्भावना र आगामी दिशाका विषयमा धारणा प्रस्तुत गरेका थिए ।

नेपालको स्पा तथा वेलनेस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन गुणस्तरीय सेवा, दक्ष जनशक्ति, स्पष्ट व्यावसायिक आचारसंहिता, सुरक्षित तथा मर्यादित कार्य वातावरण र उद्योगका साझा मापदण्ड आवश्यक रहेकोमा कार्यक्रममा सहभागीहरूले जोड दिएका थिए । 

पोखरा, भैरहवा, इटहरीलगायत देशका विभिन्न प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा पनि यस्तै क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम स्पा संघले जनाएको छ ।

नेपालको पर्यटन तथा वेलनेस क्षेत्रको महत्वपूर्ण अंगका रूपमा विकसित हुँदै गएको स्पा उद्योगलाई थप मर्यादित, सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउन व्यवसायी, श्रमिक, सरकारी निकाय तथा अन्य सरोकारवालाबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको छ ।

Share News