काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकन प्रक्रिया अघि बढाएको अवस्थामा पनि पार्टीको संगठन सुदृढीकरण र रूपान्तरण अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिमिरेले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतको पुनरावलोकन चरणमा प्रवेश गरेको उल्लेख गर्दै विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति पार्टीको विश्वास व्यवहारमै प्रतिबिम्बित हुनुपर्ने बताएका हुन् ।
उनले अदालतका सबै कानुनी प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कानुनी प्रक्रिया आफ्नो मार्गमा अघि बढ्ने भए पनि पार्टीको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनबाट प्राप्त वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा संकल्पले निर्धारण गरेको दाबी गरे ।
घिमिरेले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनर्स्थापनाको अभियान कुनै पनि परिस्थितिमा नरोकिने र आगामी दिनमा अझ तीव्र रूपमा अघि बढ्ने बताएका छन् ।
उनले लोकतन्त्रको मूल मर्म असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्न नहुने उल्लेख गर्दै संवाद, संस्थागत प्रक्रिया र विधानलाई लोकतान्त्रिक पार्टीका सबैभन्दा विश्वसनीय आधारका रूपमा व्याख्या गरेका छन् ।
संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थाभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई बल पुग्ने उनको भनाइ छ ।
महामन्त्री घिमिरेले अहिले नेपाली कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प, अविश्वासको राजनीतिभन्दा रूपान्तरणको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।