राप्रपा बागमती सरकारमा नजाने, सत्ता समीकरणको दौडबाट टाढै रहने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

बिहीबार अबेर संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकार गठनका लागि भइरहेको सत्ता समीकरण र गणितीय चलखेलमा सहभागी नहुने तथा सरकार गठनको दौडबाट बाहिर रहने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारमा सहभागी हुने विषयमा पार्टीको केन्द्रीय नेतृत्वले लिएको नीतिगत निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने निष्कर्ष पनि निकालेको छ । संसदीय दलले केन्द्रको निर्णयलाई अनुमोदन गर्दै बागमती प्रदेशमा पनि सरकारमा नजाने अडानलाई औपचारिक रूपमा पारित गरेको जनाएको छ ।

बागमती प्रदेशमा नेपाली कांग्रेससँगको गठबन्धन अन्त्य गरी नेकपा एमाले र नेकपाले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला राप्रपासँग पनि सरकार निर्माणका लागि सहयोगको प्रस्ताव गरिएको थियो । तर राप्रपाले सत्ता साझेदारीभन्दा आफ्नो राजनीतिक नीति र प्राथमिकतालाई अघि सार्दै सरकारमा सहभागी नहुने निर्णयलाई निरन्तरता दिएको हो ।

यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि वर्तमान अवस्थामा कुनै पनि सरकारमा सहभागी नहुने निर्णय गरिसकेको थियो । सोही निर्णयअनुसार बागमती प्रदेश संसदीय दलले समेत केन्द्रको नीतिलाई सर्वसम्मत रूपमा अनुमोदन गर्दै प्रदेश सरकारमा नजाने स्पष्ट सन्देश दिएको छ । 

Share News