काठमाडौं । नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको रास्वपा सरकार जनताका आधारभूत समस्याप्रति उदासीन बनेको आरोप लगाउँदै तत्काल जनमुखी काममा केन्द्रित हुन आग्रह गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार (आज) आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले छोटो अवधिमै सरकारप्रतिको जनविश्वास कमजोर बन्दै गएको दाबी गरे ।
प्रवक्ता चालिसेले बजारमा खाना पकाउने ग्यासको अभाव, खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल नपाउनु, बढ्दो महँगी, सेवा प्रवाहमा देखिएको कमजोरीलगायतका समस्याले नागरिकमा सरकारप्रति निराशा बढाएको बताए ।
‘जनताले दैनिक जीवनसँग जोडिएका समस्या भोगिरहेका छन्। यस्ता विषयमा सरकारको प्रभावकारी हस्तक्षेप देखिएको छैन,’ उनले भने, ‘त्यसैले सरकारलाई निन्द्राबाट ब्युँझिएर जनताका वास्तविक समस्याको समाधानमा केन्द्रित हुन आग्रह गर्दछौं ।’
उनले कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्दै आएको पनि उल्लेख गरे ।
चालिसेले सुशासन, पारदर्शिता र जवाफदेहिताका क्षेत्रमा सरकार असफल भएको आरोप लगाउँदै सरकारका कमजोरीकै कारण जनविश्वास निरन्तर खस्किँदै गएको दाबी गरे ।
उनले जनताले अब नाराभन्दा परिणाम, आश्वासनभन्दा कार्यान्वयन खोजिरहेको उल्लेख गर्दै राजनीतिक प्रचार वा विषयान्तरमार्फत आलोचनाबाट उम्किन खोज्नुको सट्टा पारदर्शी र उत्तरदायी शासनमार्फत विश्वास पुनःस्थापित गर्न सरकारलाई आग्रह गरे ।
अन्यथा वर्तमान सरकार समस्याको समाधानभन्दा राजनीतिक लाभका लागि समस्या लम्ब्याउने असफल सरकारका रूपमा इतिहासमा दर्ज हुने उनको चेतावनी थियो ।
कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै १५ वटा प्राथमिक विषय अघि सारेको जनाएको छ ।