काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ ।
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन् । बचतकर्तालाई वितरण गरिएको रकम समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी संकलन भएको रकमबाट भुक्तानी गरिएको समितिले जनाएको छ ।
समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट ऋण असुली गरिएको जानकारी दिएको छ । ऋण असुलीलाई थप प्रभावकारी बनाउँदै बचत फिर्ता प्रक्रिया पनि निरन्तर अघि बढाइएको समितिको भनाइ छ ।
समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि चरणबद्ध रूपमा रकम फिर्ता गरिनेछ ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ ।