काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले वन उपभोक्ता समूहमा भएको लाखौं रुपैयाँ हिनामिना प्रकरणमा समूहका पूर्व पदाधिकारी तथा लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ सम्म झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस रोपण, वृक्षारोपण, वनहेरालुको तलब, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण र मौरीघारलगायत शीर्षकमा नक्कली बिल तथा भरपाई तयार गरी वनको आम्दानी हिनामिना गरिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार काठ बिक्रीबाट प्राप्त आम्दानीलाई काम नै नभएका शीर्षकमा खर्च भएको देखाई झुट्टा विवरण तयार पारिएको थियो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म विभिन्न अवधिमा गरी कुल ३९ लाख १२ हजार ५६० रुपैयाँ ८४ पैसा हिनामिना भएको निष्कर्ष निकालिएको छ ।
आयोगले तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षलाई विभिन्न आर्थिक वर्षमा भएको हिनामिनाअनुसार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । यस्तै, लेखापरीक्षण प्रतिवेदनमार्फत अनियमिततालाई वैधता दिएको आरोपमा दुई जना रजिष्टर्ड लेखापरीक्षकविरुद्ध पनि सोही ऐनको दफा १९(१) बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।