काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको गाईघाट नजिकै सोमबार पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो खसेलगत्तै सडक खुलाउने कार्यका लागि आवश्यक उपकरण घटनास्थलमा परिचालन गरिएको छ ।
डिभिजनले पहिरो हटाउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ । त्यस अवधिसम्म उक्त सडक खण्डमा सवारीसाधन एकतर्फी सञ्चालन हुने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन र आवश्यक संयमता अपनाउन आग्रह गरिएको छ ।
सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।