काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को सट्टा हिंसामार्फत सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो धारणा राखेका हुन् ।
अधिकारीले विगतका हिंसात्मक घटनाका दोषीलाई जवाफदेही बनाउन नसक्दा त्यस्ता घटनाको पुनरावृत्ति भइरहेको तर्क गरे । भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै उनले ती घटनामा जवाफदेहिता कायम गर्न नसकिएकै कारण अहिले फेरि त्यस्तै प्रकृतिका घटना दोहोरिन थालेको बताए ।
हालैका दिनमा देखिएका धार्मिक तथा अधार्मिक प्रकृतिका उच्छृङ्खल गतिविधि र निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानमाथि भएका आक्रमणप्रति पनि उनले चासो व्यक्त गरे । भाटभटेनी र सीजी ग्रुपजस्ता व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी र क्षतिलाई उनले लोकतन्त्रका लागि चिन्ताको विषय बताए । यस्ता गतिविधिले मुलुकको शासन व्यवस्था र लोकतन्त्रको रक्षामा चुनौती थपेको उनको भनाइ छ ।
अधिकारीले भने, ‘पटक–पटक यस्ता घटना भइरहँदा हिंसा र हिंसामार्फत सत्ता परिवर्तन हुन सक्छ, ब्यालेटबाट होइन भन्ने मान्यता स्थापित हुँदैछ कि भन्ने डर लागिरहेको छ । त्यो हो कि होइन, त्यो आफ्नो ठाउँमा होला । तर आजको दिनमा यो विषय गम्भीर समीक्षा गर्ने विषय बन्न सक्छ कि सक्दैन ? यसतर्फ हाम्रो ध्यान जान आवश्यक छ भन्ने मलाई लाग्छ। भदौ २३ र २४ गतेका घटना भए ।’
अधिकारीले सरकार र संसद्बीचको सम्बन्धका विषयमा पनि प्रश्न उठाए। संसदबाटै नियुक्त हुने प्रधानमन्त्रीलाई आजको अवस्थामा संसद्मै टेक्न गाह्रो हुनु जवाफदेहिताको अभावको संकेत भएको उनले बताए ।
राज्यको कार्यकारी प्रमुखले नै जिम्मेवारी र जवाफदेहिताको बोध नगर्ने हो भने लोकतन्त्रप्रति जनताको आस्था र विश्वास कायम राख्न कठिन हुने उनको चेतावनी छ । जवाफदेही शासन व्यवस्थाले मात्र लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले यस विषयमा गम्भीर समीक्षा गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।