काठमाडौं । निर्मल पुर्जा अर्थात् निम्स दाइको निधन भएको छ । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर उनको निधन भएको इलाइट एक्सपेडले पुष्टि गरेको छ ।
इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिमा हिम पहिरोपछि पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' पुर्जाको दुःखद निधन भएको उल्लेख गरिएको छ । इलाइट एक्सपेड कम्पनी निम्स दाइको हो । उनीसहित केही पर्वतारोही साझेदारी छन् ।
‘आज हामी अत्यन्तै गहिरो दुःख र असह्य पीडाका साथ पुष्टि गर्दछौं कि ब्रड पिकमा आएको हिम पहिरोपछि विश्व प्रसिद्ध पर्वतारोही निर्मल 'निम्स' दाइ पुर्जाको दुःखद निधन भएको छ। यस अभियानमा संलग्न अन्य केही सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
'हामीले केवल निम्सलाई मात्र होइन, यस दुःखद घटनामा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।
उनका विश्वासिला आरोहण सहयात्री तथा पर्वत मार्गदर्शक पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको विज्ञप्तिमा बताइएको छ ।
निर्मल 'निम्स दाइ' पुर्जा तथा यस दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। तपाइलाई कहिले बिर्सने छैनौ । तपाइको साहस, उद्देश्यलाई आउने पुस्ताले सधैँभरि सम्झिरहने छन् ।
