नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत श्रेष्ठ ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयबाट प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित भएका छन् ।

भियतनामको परराष्ट्र मन्त्रालयले नेपाल–भियतनामबीच व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै श्रेष्ठलाई प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गरेको हो ।

मन्त्रालयले श्रेष्ठले नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ । ‘भियतनामको वैदेशिक सेवामा योगदान’ शीर्षकअन्तर्गत प्रदान गरिएको सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङको हस्ताक्षर रहेको छ ।

सम्मानपत्रमा नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहकार्य विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा श्रेष्ठले खेलेको भूमिका उल्लेखनीय रहेको उल्लेख गरिएको छ ।

सम्मानपछि श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँदिल्लीस्थित भियतनाम दूतावास तथा सम्बद्ध निकायप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए ।

उनले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । प्रत्यक्ष हवाई सम्पर्कले बौद्ध पर्यटन, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उनको भनाइ छ ।

नेपाल बुद्धको जन्मस्थल र भियतनाम समृद्ध बौद्ध सम्पदा भएको मुलुक भएकाले धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि सिधा हवाई सेवा अपरिहार्य रहेको श्रेष्ठले बताए ।

लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै उनले सिधा उडान सञ्चालन भए धार्मिक पर्यटनसँगै सांस्कृतिक आदान–प्रदान, शैक्षिक सहकार्य र व्यावसायिक साझेदारीसमेत विस्तार हुने विश्वास व्यक्त गरे ।

श्रेष्ठले सूचना प्रविधि, पर्यटन, शिक्षा, सेवा, कृषि, खाद्य प्रशोधन, उत्पादन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा नेपाल–भियतनामबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै संयुक्त लगानी र साझेदारीबाट दुवै मुलुक लाभान्वित हुने बताए ।

Share News